चितवनमा राप्रपाबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

भरतपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले चितवनमा राप्रपाबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे, सहमहामन्त्री रिना गुरुङ, केन्द्रीय सदस्य मिना न्यौपाने, जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकाल लगायतले जनप्रतिनिधिहरुलाई सम्मान गरेका हुन् ।
हरेक दिन जनताका गुनासा संकलन गर्न जनप्रतिनिधिहरुलाई कपि र कलम समेत उपहार दिइएको छ । राप्रपाबाट चितवनमा ११ जना जनप्रतिनिधिहरु निर्वाचित भएका छन् । माडीमा २ वडाध्यक्ष सहित ७ जना र भरतपुर महानगरमा ४ जना सदस्यहरु निर्वाचित भएका छन् ।
माडी वडा नम्बर १ को वडाध्यक्ष अमित लामा, वडा नम्बर ८ मा वीरेन्द्रबहादुर भण्डारी, वडा सदस्यहरुमा माडी १ मा जितेन्द्र महतो, मुना धमला लोहार, अप्सरा सुवेदी पराजुली, माडी–८ मा अनिता आचार्य निर्वाचित भएका छन् । भरतपुर महानगरमा वडा नम्बर ५ मा चन्द्रमणी भुषाल, वडा नम्बर १२ मा सञ्जय कुमार थापा, २१ मा सुविता श्रेष्ठ तामाङ, २५ मा रामहरी पौडेल निर्वाचित भएका छन् ।
केन्द्रीय सहमहामन्त्री रिना गुरुङले राष्ट्रवादी शक्तिलाई भत्काउन भएका अनेक चलखेललाई जनताले पराजित गर्दै राप्रपाका जनप्रतिनिधिहरुलाई निर्वाचित गराएको बताईन् । राष्ट्रवादी शक्तिलाई थप सशक्त बनाउन गाउँ–टोलमा संगठन विस्तारमा लाग्नुपर्ने बेला आएको बताईन् ।
केन्द्रीय सदस्य मिना न्यौपानेले जनप्रतिनिधिलाई काम गर्न जिल्ला कार्यसमितिले पूर्ण रुपमा सघाउनुपर्ने बताईन् । राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले २०७४ को चुनावको तुलनामा तेब्बर बढी अर्गानिक मत बढेको बताए ।
उनले जनताको मतको उच्च सम्मान गर्दै जनताका चाहना अनुसारका विकास निर्माण कार्य गर्न आग्रह गरे । माडी–८ का वडाध्यक्ष वीरेन्द्र भण्डारीले राप्रपाबाट निर्वाचित भएका जनप्रतिनिधिले सुशासनको प्रत्याभूति दिलाएर कामहरु गर्ने बताए । भरतपुर–२१ का वडा सदस्य सुविता श्रेष्ठले राप्रपा विगतभन्दा बलियो बनेको बताए । भरतपुर–१२ का वडा सदस्य सञ्जयकुमार थापाले जनअपेक्षाका कामहरु गरेर वडालाई नमुना वडा बनाइने बताए ।
तपाइँको प्रतिक्रिया