जनप्रतिनिधिहरु जनताको सेवक बन्नुपर्छः विक्रम पाण्डे

भरतपुर – राप्रपाका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले जनप्रतिनिधिहरुलाई जनताको मन जित्ने काम गर्न आग्रह गरेका छन् ।
राप्रपा चितवनले राप्रपाबाट चितवनमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सच्चा दिलले जनताको सेवक बन्न सुझाएका हुन् ।
“विश्राम गर्ने बेला सकिएको छ, अब जनताको सेवक बनेर काम गर्नुस्, छिमेकी वडामा समेत सेवा गर्न नछोड्नुस्”, उनले भने, “जनतालाई सरकारी सुविधा लिन कहि कतै अप्ठ्यारो भए सहजीकरण गरिदिनुस्, मन जित्ने काम गर्नुस् ।”
उनले राष्ट्रवादी शक्तिहरुलाई हराउन कैयन शक्तिहरुले घेराबन्दी गरेपनि जनताले राप्रपाको पक्षमा मतदान गरेर सहि मूल्यांकन गरेको बताए । उनले एक्ला उम्मेदवारहरुले समेत महानगर, कैयन पालिकाहरुमा जितेकाले जनताको विश्वास जित्न जनताका दुःख, सुखको साथी बनेर काम गर्न आग्रह गरे ।
चितवनमा प्राविधिक त्रुटीले जित्ने अनुमान गरिएका केही वडामा समेत हार व्यहोर्नुपरेपनि पराजित उम्मेदवारहरुलाई निराश नबन्न उनले आग्रह गरेका छन् । प्रदेश र संघीय चुनावको तयारीमा जुट्न समेत उनले आग्रह गरे ।
तपाइँको प्रतिक्रिया