रत्ननगर – पूर्वी चितवनको रत्ननगरमा मुख्य कार्यालय रहेको युनिक बचत तथा ऋण सहकारी संस्थाको नयाँ भवन उद्घाटन गरिएको छ । संस्थाको १५ औं स्थापना दिवसको अवसरमा आज (शुक्रबार) नयाँ भवन उद्घाट्न गरिएको हो ।
तीन करोड १९ लाखको लगानीमा निर्माण भएको पाँच तले सुविधा सम्पन्न भवनको बागमती प्रदेशका भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौलाले उद्घाटन गरे । सोही अवसरमा संस्थाले रत्ननगरका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा सहकारीको विकास र प्रवर्द्धन विषयक अन्र्तक्रिया कार्यक्रम पनि गरेको छ ।
संस्थाले रत्ननगर नगरपालिकाका नवनिर्वाचित मेयर प्रल्हाद सापकोटा, उपमेयर यादव पाठक तथा वडाअध्यक्ष र वडासदस्यहरुलाई स्वागत तथा सम्मान गरेको हो । यस्तै भवन निर्माण समितिका संयोजक रघुनाथ भट्ट,सदस्यहरु यादव प्रसाद पाठक, केशवलाल कर्मचार्य, इन्द्रप्रसाद पाध्य पौडेल, केदारनाथ अधिकारी, इन्द्रप्रसाद बजगाई, सोहेन्द्रराज खरेल, शालिग्राम पराजुली र सदस्य सचिव मेघनाथ लामिछानेलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव निरौलाले सहकारी नाफामुलक नभइ सेवा मुखी हुनुपर्ने बताए । सहकारीलाई उत्पादनमुखी बनाएर रोजगारी सृजना गर्नुपर्नेमा उनले जोड दिए ।
नवनिर्वाचित मेयर सापकोटाले विपन्न वर्गको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि सहकारीले लगानी गर्नुपर्ने बताए । उपमेयर पाठकले उत्पादनशिल क्षेत्रमा लगानी गर्न सहकारीलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघकी उपाध्यक्ष शान्ति ढकाल अधिकारी, पूर्व कोषाध्यक्ष केशव प्रसाद पोखरेल, पूर्व वरिष्ठ सहकारी अधिकृत केशव बहादुर थापा, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिशचन्द्र सुवेदी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष प्रेमकृष्ण खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । २०६५ सालमा स्थापना भएको सो सहकारीको कुल सम्पती दुई अर्ब एक करोड ७७ लाख, शेयर पुँजि १५ करोड ६८ लाख, जगेडा कोष ११ करोड ९९ लाख, ऋण जोखिम कोष ५ करोड ६७ लाख, बचत संकलन १ अर्ब ५५ करोड ६५ लाख, ऋण लगानी एक अर्ब ६६ करोड ८३ लाख रहेको प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछानेले जानकारी दिए ।