प्रजातन्त्र सेनानी श्रेष्ठलाई सम्झिँदै खड्का भने : अतुलनीय योगदान दिने नेतालाई भुल्न हुँदैन

चितवन – नेपाली कांग्रेसका उपसभापति पुर्ण बहादुर खड्काले पार्टीमा अतुलनीय योगदान दिने नेताहरुलाई कहिल्यै पनि भुल्न नहुने बताएका छन् ।
कांग्रेस चितवनका नेता प्रजातन्त्र सेनानी स्वर्गीय श्रेष्ठको प्रथम स्मृति सभामा बोल्दै उपसभापति खड्काले पार्टीले इतिहासको कुनै पनि कालखण्डमा उच्च योगदान गर्ने कुनै पनि नेताहरुलाइ भुल्न नहुने बताएका हुन् ।
श्रेष्ठ सधै आफ्नो सम्झनामा रहने भन्दै उनले पार्टी बिचार र सिद्धान्तबाट मात्र नभई श्रेष्ठ जस्ता इतिहास बोकेका नेताहरुको प्रेरणाबाट चलेको पनि बताए ।
उनले राजनीतिलाई अवसरको रुपमा मात्र नलिन पनि सबैमा आग्रह गरे । उपसभापति खड्काले पार्टीमा सस्कार र सस्कृती अपरिहार्य रहेको बताए । उनले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै अब दलहरुले अहिलेको निर्वाचनले गरेको संकेतलाई ध्यानमा राख्न जोड दिए ।
निर्वाचनले गठवन्धनलाई साकार पारेको भन्दै उनले यसलाई थप व्यवस्थित र आवश्यकतालाई पुष्टि गर्दै नयाँ तरीकाबाट लैजानु पर्ने बताए । फरक प्रसङ्गमा उनले अहिलेको गठवन्धन बिस्तृत शान्ति सम्झौतालाई पूर्णता दिएर अघि बढ्नका लागि बनेको दाबी गरे ।
निर्वाचन जित्नका लागि मात्र गठवन्धन नबनेको भन्दै उनले देशलाई दुर्घटनामा जानबाट बचाउनका लागि अहिलेको गठवन्धन आवश्यक रहेको स्पष्ट पारे । उनले सरकारले नीति तथा कार्यक्रम गठवन्धनमा छलफल गरेर गठवन्धनको सुझाब अनुसार ल्याएको पनि प्रष्ट पारे ।
नीति तथा कार्यक्रम मुलुकको आवश्यकतालाई सम्बोधन गर्ने गरी आएको उनको भनाइ थियो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, दिनेश कोइराला, पूर्व मन्त्री सावित्री बोगटी, पूर्व शिक्षा राज्य मन्त्री शेसनाथ अधिकारी, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, विद्यार्थी नेता राम प्रसाद अधिकारी लगायतले बोलेका थिए ।
तपाइँको प्रतिक्रिया