भरतपुर महानगरको मेयरमा रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी बिजयी
भरतपुर – भरतपुर महानगरपालिकामा मेयर सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र उपमेयर सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी बिजयी भएका छन् ।
भरतपुरमा खसेको १ लाख २७ हजार ५०८ मतमा दाहालले ५२ हजार ३० मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत मात्र पाए । दाहालले १२ हजार ४४९ मतान्तरले एमाले र राप्रपाका साझा उम्मेदवार सुवेदीलाई पराजित गरेकी हुन् ।
यस्तै गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाएका छन् । यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका अधिकारीले ५२ हजार ८०३ मतसहित विजयी भएका छन् । उनले राप्रपाकी हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले पराजित गरेका छन् ।
एमाले र राप्रपाकी साझा उम्मेदवार गुरुङलाई ३० हजार १९१ मत मात्र आएको छ । ०७४ मा पनि भरतपुरमा माओवादीको मेयर र काँग्रेसको उपमेयर थिए । अहिले पनि मेयर माओवादी र उपमेयर काँग्रेसले जितेको छ ।
भरतपुरको २९ वार्डमा नेपाली काँग्रेसले १,२,४,५,६,८,१०,,१४,१५,१६,१७,२०,२१,२३,२७,र २९ गरेर १६ वटा वडाध्यक्षमा जितेको छ । नेकपा एमालेले ३,११,१२,१८,१९ र २८ गरेर ६ वटा वडाध्यक्ष जितेको छ ।नेकपा माओवादी केन्द्रले १३,२४ र २६ गरेर ३ वार्ड तथा नेकपा (एकीकृत समाजवादी)ले ७, ९ र २२ गरेर ३ वार्ड जित्न सफल भएका छन् । भरतपुर महानगरपालिका वडा नं. २५ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार छबिलाल सापकोटा विजयी भएका छन् ।
तपाइँको प्रतिक्रिया