पेट्रोलियम पदार्थको मूल्य वृद्धि बारे छलफल गर्न कांग्रेस केन्द्रीय सदस्य कोइरालाको माग
चितवन – नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले बढ्दो महंगी र पेट्रोलियम पदार्थको मूल्य वृद्धि बारे केन्द्रीय समिति बैठक राखेर छलफल गर्न माग गरेका छन । आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै कोइरालाले यस्तो माग गरेका हुन ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा बढ्दो महंगी नियन्त्रण सम्बन्धमा कार्ययोजना बनाउन केन्द्रीय समितिको बैठक राखेर विशेष छलफल गर्नुपर्ने भन्दै उनले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण समेत गराएका छन्।
उनले इन्धनमा भएको मूल्यवृद्धि आपत्तिजनक र चिन्ताको बिषय भएको बताएका छन् । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि अत्यन्तै आपत्तिजनक छ। अहिले पेट्रोलियम तथा खाना पकाउने ग्यासको मूल्य अत्यधिक बढाइएको छ । यो अत्यन्तै चिन्ताको कुरा हो। निरन्तर महंगी बढिरहेको छ। महंगीको रफ्तारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धिले झन् बढाउनेछ।’, उनको विज्ञप्तिमा भनिएको छ ।
अहिले अर्थतन्त्र ओरालो गतिमा लागेको र अर्थतन्त्रलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धिले झन् ओरालो लगाउने भन्दै पार्टी गम्भीर बन्नुपर्ने बेला भएको उनले बताएका छन्।
सरकारले पेट्रोलियमको मूल्यवृद्धि रोक्ने उपाय नखोजेको भन्दै उनले दुःख व्यक्त गरेका छन्। सरकारले महंगी नियन्त्रणका लागि ठोस कार्ययोजना बनाएर लागू गर्न उनले माग गरेका छन्।
कोइरालाको विज्ञप्ति :
पेट्रोलियम पदार्थको मूल्यवृद्धि अत्यन्तै आपत्तिजनक छ । अहिले पेट्रोलियम तथा खाना पकाउने ग्यासको मूल्य अत्याधिक बढाइएको छ । यो अत्यन्तै चिन्ताको कुरा हो । निरन्तर महंगी बढिरहेको छ । महंगीको रफ्तारलाई पेट्रोलियम पदार्थको मूल्य वृद्धिले झन् बढाउनेछ ।
अहिले अर्थतन्त्र ओरालो गतिमा छ । ओरालो लागेको अर्थतन्त्रलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धिले झन् ओरालो लगाउनेछ । त्यसैले नेपाली कांग्रेसले गम्भीर बन्नुपर्ने बेला आएको छ ।
पेट्रोलियमको मूल्यवृद्धि विश्वव्यापी हो भन्ने हामीलाई थाहा छ तर नेपालमा विभिन्न किसिमका अतिरिक्त करहरु लगाएर पेट्रोलियमलाई झन् महंगो बनाइएको छ । हाम्रो सरकारले पेट्रोलियमको मूल्य वृद्धि रोक्ने उपाय खोजेको देखिएन । यसमा दुःख प्रकट गर्दछु ।
पेट्रोलियमको मूल्य वृद्धि तथा अन्य सबै क्षेत्रमा बढेको महंगीले राजनीतिक दलहरुमध्ये नेपाली कांग्रेसलाई सबैभन्दा धेरै असर गर्छ । किनभने नेपालको सबैभन्दा ठूलो, लोकप्रिय र जिम्मेवार राजनीतिक दल कांग्रेस नै हो । प्रतिपक्षी नेकपा एमाले तथा गठवन्धनमा आवद्ध दलहरु जिम्मेवार छैनन् । खासगरी गठवन्धनमा रहेका दलहरु कांग्रेस अलोकप्रिय भयो भने भावी चुनावमा कांग्रेसबाट ठूलो हिस्सा लिन पाइन्छ भन्ने पक्षमा छन् । गठवन्धन भित्र तथा बाहिरका दलहरु नेपाली कांग्रेसलाई अलोकप्रिय बनाउन लागिरहेको बेला गरिएको पेट्रोलियमको मूल्यवृद्धि चिन्ताको कुरा भएको छ ।
वर्तमान सरकारले गरेका राम्रा कामको जस कांग्रेसबाहेक अरुले लिने र नराम्रा कामको अपजस कांग्रेसको टाउकोमा थोपर्ने कुटिल प्रवृत्ति गठवन्धन भित्र देखिएको छ । यस्तो अवस्थामा पेट्रोलियमको मूल्य वृद्धि र बढ्दो महंगीको विषयमा नेपाली कांग्रेस अझ बढि गम्भीर हुनुपर्ने बेला आएको छ ।
सरकारले महंगी नियन्त्रणका लागि ठोस कार्ययोजना बनाएर लागू गर्नुपर्दछ । मूल्यवृद्धि र अर्थतन्त्रको ओरालो गति नियन्त्रण गर्न गठवन्धनमा सहभागी दलहरु र उनीहरुले समालेका मन्त्रालयहरुमा प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्दछ । आवश्यक पर्दछ भने मन्त्रीमण्डल पुर्नगठन गरेर गठवन्धनका असक्षम मन्त्रीहरुलाई तत्काल विदा गर्नुपर्दछ ।
आउँदो वार्षिक बजेट निर्माणमा प्रधानमन्त्रीले प्रत्यक्ष हस्तक्षेप गर्नुपर्दछ । गठवन्धनको दलको स्वतन्त्रता हो भन्दै माओवादी केन्द्रका अर्थमन्त्रीलाई एकलौटी बजेट बनाउन दिनु हुँदैन । मन्त्रिमण्डलमा प्रधानमन्त्रीको विशेषाधिकार हुने तथ्यलाई ध्यान दिनुपर्छ ।
वर्तमान महंगीलाई ध्यानमा राखेर विपन्न वर्गलाई राहत तथा अनुदान दिन सरकारले विषेश कार्यक्रम ल्याउनुपर्छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा बढ्दो महंगी नियन्त्रण सम्बन्धमा कार्ययोजना बनाउन नेपाली कांग्रेस केन्द्रीय समितिको वैठक राखेर विशेष छलफल गरिनुपर्दछ ।
यी विषयमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाज्यूको विशेष ध्यानाकर्षण गराउँदछु ।
जय नेपाल
दिनेश कोइराला
केन्द्रिय सदस्य, नेपाली कांग्रेस
तपाइँको प्रतिक्रिया