चितवन – भरतपुर महानगरपालिकाको मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेलले सात हजार मत कटाएका छन् ।
४५ हजार ७६२ मतगणना हुँदा उनले सात हजार ४० मत प्राप्त गरेका छन् । उनी मेयरका प्रतिस्पर्धीहरु मध्ये तेस्रो स्थानमा छन् ।
भरतपुरको मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले नै अग्रता लिईरहेकी छन् । उनले १७ हजार २९० मत प्राप्त गरेकी छन् ।
उनलाई नेकपा एमालेका विजय सुवेदीले १४ हजार २६ मतका साथ पछ्याईरहेका छन् । रेनु र एमाले-राप्रपा गठबन्धनका विजयबीच तीन हजार २६४ को मतान्तर छ ।
यस्तै उमपेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले एमाले-राप्रपा गठबन्धनकी हिमला गुरुङविरुद्ध आठ हजार ६२९ मतको अग्रता लिएका छन् । चित्रसेनले १९ हजार ८४८ मत पाउँदा हिमलाले ११ हजार २१९ मत पाएकी छन् ।
हाल भरतपुर १० र ११ को मतगणना भइरहेको छ । भरतपुर १० मा नेपाली कांग्रेसले अग्रता लिरहेको छ । कांग्रेसले एक हजार ५८३ मत पाउँदा एमालेले एक हजार ३४८ मत पाएको छ ।
उता भरतपुर ११ मा भने एमालेले अग्रता लिइरहेको छ । एमालेले ६ सय एक मत पाउँदा माओवादी केन्द्रले चार सय ३० मत पाएको छ ।


