जिम्बावे ए विरुद्धको एकदिवसीय शृंखला नेपालको पोल्टामा

काठमाडौं – कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय प्रदर्शनको मद्तमा नेपालले जिम्बाबेविरुद्धको एकदिवसीय शृंखला २-१ ले जितेको छ । आज (सोमबार) भएको अन्तिम खेलमा जिम्बावे ‘ए’लाई ६ विकेटले पराजित गर्दै एकदिवसीय शृंखला २-१ ले आफ्नो पक्षमा पारेको हो ।
कीर्तिपुर स्थित टियु क्रिकेट जिम्बावेले दिएको २१४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । नेपालका लागि ६१ बलको सामना गरेका कुशलले ७ चौका र ४ छक्कासहित ८४ रनको महत्त्वपूर्ण इनिङ खेले ।
आशिफले ३७ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाएर पेभेलियन फर्किँदा सुनील धमला ६ रन बनाएर आउट भएका थिए ।यस्तै, दीपेन्द्रसिंह ऐरीले अविजित ६० रनको शानदार इनिङ खेले । उनले विकेटकिपर ब्याटर विनोद भण्डारीसँग चौथो विकेटका लागि अविजित ८४ रनको साझेदारी गरेका थिए । छैटौं नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका विनोद २६ बलमा ३ चौकासहित २८ रन बनाएर अविजित रहे ।
बलिङतर्फ जिम्बावे ‘ए’का लागि ब्रान्डोन माभवुताले ६ ओभरमा ४६ रन खर्चेर सर्वाधिक ३ विकेट लिँदा ब्राड इभान्सले ५ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावे ‘ए’ले टाडिवान्से मरुमानीको अर्धशतक मद्दतमा २१३ रनको योगफल तयार गरेको थियो । त्रिवि क्रिकेट मैदानमा जारी शृंखलाको अन्तिम खेल समयमा सुरु हुन नसक्दा ३३ ओभरमा घटाइएको थियो ।
बिहान ९ः३० बजे हुने तय भएको खेल वर्षाका कारण मैदान चिसो हुँदा १२ः ३० बजे मात्रै सुरु भएको थियो । ढिला गरी सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वे ‘ए’ले ३२।१ ओभरमा विकेट गुमाएर २ सय १३ को योगफल तयार गरेको थियो ।
जिम्बाब्वे ‘ए’का लागि ओपनर मरुमानीले ३१ बलमा ७ चौका २ छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए । अर्का ओपनर इनोसेन्ट काया १४ बलमा १२ रन बनाएर पेभेलियन फर्केका थिए ।
यस्तै, कुद्जाई मौञ्जेले ३४ बलमा ४ चौका र २ छक्कासहित ३९ रन बनाएर आउट हुँदा रोय काया ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ बनाएर पेभेलियन फर्के ।
बलिङतर्फ नेपालका लागि किशोर महतोले ७ ओभरमा ४३ रन खर्चेर १ मेडनसहित सर्वाधिक ५ विकेट लिए । यस्तै, सोमपाल कामीले ७ ओभरमा ४५ रन खर्चेर २ विकेट लिँदा बासिर अहमदले २ ओभरमा ११ रन खर्चिए ।
एकदिवसीय शृंखलाको पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले दोस्रो एकदिवसीयमा नेपालले ९ विकेटको शानदार जित निकालेको थियो ।
तपाइँको प्रतिक्रिया