गणेशबहादुर स्मृति फुटबलको क्वाटरफाइनल समिकरण पुरा

एटुजेड समाचार

भरतपुर – भरतपुर महानगरपालिका ११ कैलाश टोलमा जारी पाँचौ स्वर्गीय गणेशबहादुर स्‍मृति जिल्ला स्तरीय खुल्ला नकआउट फुटबलको क्वाटरफाइनल समिकरण पुरा भएको छ ।

आज (मंगलबार) पहिलो चरण अन्तिम खेलहरु सकिएसँगै क्वाटरफाइनल पुग्ने सबै आठ टोलीको टुङ्गो लागेको हो । आज पहिलो खेल आयोजक नारायणी मोटर्स युनिक क्लब ‘बी’ र नयाँबस्ती फुटबल ट्रेनिङ सेन्टरबीच भएको थियो ।

सोमबार भीषण हावाहुरीसहितको वर्षाका कारण स्थगित भएको खेलको दोस्रो हाफ आज खेलाईएको हो । सोमबार पहिलो हाफ सकिएपछि भीषण हावाहुरीसहितको वर्षाका युनिक ‘बी’ र नयाँबस्तीबीचको खेलको दोस्रो हाफ पोस्टपोण्ड भएको थियो ।

उक्त खेलमा युनिक ‘बी’ ले नयाँबस्तीलाई टाई ब्रेकरमा ५-४ ले पाखा लगायो । त्यस अघि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफको पहिलो मिनेटमा नै गणेश हमालले गोल गर्दै युनिक ‘बी’ लाई अग्रता दिलाए थिए । तर २९ औं मिनेटमा आशिष थिङले नयाँबस्तीका लागि बराबरी गोल फर्काए । युनिक ‘बी’ का गोलरक्षक निमशिखर म्यान अफ दि म्याच भए ।

आजको अर्को खेलमा नारायणी एफसीले एफसी भरतपुर ९ विरुद्ध रोमाञ्चक जित हात पारेको छ । नारायणीले एफसी भरतपुरलाई ४-३ ले पाखा लगाएको हो । नारायणीको जितमा अजय गुरुङले ह्याट्रिक गरे । यस्तै सोम गुरुङले अर्को एक गोल थपे । एफसी भरतपुरका मिलन दुरा र पर्वत श्रेष्ठले एक-एक गोल फर्काए । एफसी भरतपुरले एक गोल उपहार पायो ।

नारायणीले सबै चार गोल पहिलो हाफमा गरेको थियो । पहिलो हाफको छैटौं मिनेटमा अजयले गोल गर्दै नारायणीलाई अग्रता दिलाए । १२ औं मिनेटमा सोमले नारायणीको अग्रता दोब्बर बनाए । १९ औं मिनेमा अजयले व्यक्तिगत दोस्रो गोल गरेपछि नारायणीले ३-० को अग्रता लियो ।

२३ औं मिनेटमा एफसी भरतपुरका मिलनले गोल फर्काए । २५ औं मिनेटमा उसले उपहार गोल पायो । नारायणीका अमृत श्रेष्ठले आत्मघाती गोल गरेपछि खेल एफसी भरतपुरले अग्रता छोट्टायो । २६ औं मिनेटमा अजयले ह्याट्रिक गर्दै फेरि नारायणीको अग्रता लम्बाए । दोस्रो हाफको २९ औं मिनेटमा एफसी भरतपुरका पर्वतले गोल गरे पनि हार टार्न सकेनन् । ह्याट्रिक गरेका नारायणीका अजय म्यान अफ दि म्याच भए ।

आजको अन्तिम खेलमा आयोजक युनिक ‘ए’ एफसी नौरङ्गेसँग सडन डेथमा पराजित भयो । निर्धारित समयमा १-१ गोल भएपछि खेल टाईब्रेकरबाट धकेलिएको थियो । टाईब्रेकरमा ५-५ प्रहारमा पनि बराबरी भएपछि खेल सडन डेथमा धकेलियो । सडन डेथमा नौरङ्गेले बाजी मार्‍यो ।

त्यस अघि खेलको चौथो मिनेटमा सुजन बरामले युनिक ‘ए’ लाई अग्रता दिलाएका थिए । नवौं मिनेटमा नौरङ्गेका पदम गुरुङले बराबरी गोल फर्काए । पदम नै म्यान अफ दि म्याच चुनिए ।

बरामले युनिक ‘ए’ लाई अग्रता दिलाएका थिए । नवौं मिनेटमा नौरङ्गेका पदम गुरुङले बराबरी गोल फर्काए । पदम नै म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगितामा बुधवारबाट क्वाटर फाइनल चरणका खेलहरु हुनेछ । बुधवार क्वाटरफाइनलका दुई खेल हुनेछ । पहिलो खेल दिउँसो २ बजे टाईगर युवा क्लब र पदमपोखरी फुटबल ट्रेनिङ सेन्टर हेटौंडाबीच हुनेछ । दिउँसो ४ बजे दोस्रो खेलमा युनिक क्लब ‘बी’ र नारायणी एफसी भिड्नेछन् ।

युनिक क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले एक लाख २० हजार तथा उपविजेताले ६० हजार प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीले पाँच हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, स्ट्राईकर, उच्च गोलकर्ता तथा उदयमान खेलाडीले नगद तीन-तीन हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल २४ गते हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू