कालिका – सत्ता गठबन्धनले चितवनको कालिका नगरपालिकामा चुनावी कार्यक्रम सुरु गरेको छ ।आज (आइतबार) बिहान कालिका १ गडुवाबाट चुनावी कार्यक्रम सुरु भएको हो ।
चुनावी कार्यक्रम अन्तर्गत आज बिहान मोटरसाइकल र्याली निकालिएको थियो । लंकालाइनबाट निकालिएका र्याली सूर्यपुर, बास्तोलाचोक हुँदै गडुवामा पुगेर कोणसभामा परिणत भएको थियो ।



कोणसभालाई नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, कांग्रेसबाट नगरपालिकाको गठबन्धनका उम्मेदवार शिवराम केसी, नेकपा माओवादी केन्द्रबाट उपमेयर पदकी उम्मेदवार सबिता लामालगायतले सम्बोधन गरेका थिए ।
यस्तै आज नै कालिका २ स्थित गठबन्धनको संयुक्त सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । नगर प्रमुख पदका उम्मेदवार केसीले कार्यालयको उद्घाटन गरेका हुन् ।
आज नै कालिका ९ शक्तिखोरमा पनि गठबन्धनको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । नगर प्रमुख पदका उम्मेदवार केसी र उपमेयर पदकी उम्मेदवार लामाले संयुक्त रुपमा कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटनपछि शक्तिखोरमा पनि मोटरसाइकल र्याली निकालिएको थियो ।
यस्तै सत्ता गठबन्धनले कालिकामा आजबाट घर दैलो कार्यक्रम पनि सुरु गरेको छ ।
आज कालिका ९ शक्तिखोरबाट घरदैलो सुरु गरेको हो । मेयर पदका उम्मेदवार केसी र उपमेयर पदकी उम्मेदवार लामाले जनताको घर घर पुगेर मत माग्दैछन् ।