भरतपुर – भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गठबन्धनविरुद्ध राप्रपाबाट नै उम्मेदवारी परेको छ । एमाले-राप्रपा गठबन्धनविरुद्ध योगलाल श्रेष्ठ र पवित्रा जोशीले उम्मेदवारी दिएका हुन् ।
श्रेष्ठले महानगरको मेयर तथा जोशीले उपमेयरमा उम्मेदवारी दिएका हुन् । आज (आइतबार) भरतपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै उम्मेदवारद्धयले एमाले-राप्रपा गठबन्धनविरुद्ध आफुहरुले उम्मेदवारी दिएको बताए ।
मेयरका उम्मेदवार श्रेष्ठले बिचार सिद्धान्त नै नमिल्ने पार्टीसँग राप्रपाले गठबन्धन गरेकोले त्यसविरुद्ध उम्मेदवारी दिएको बताए । ठूला भनिएका दलहरु नातावाद त कृपावादमा लिप्त हुँदा पदका लागि त्यही दलसँग गठबन्धन गर्नु अनुचित भएको उनको भनाइ थियो ।
उपमेयरकी उम्मेदवार जोशीले गठबन्धन नभएको भए अहिलेको अवस्था आउने थिएन भन्दै गठबन्धनविरुद्ध नै आफुहरुले उम्मेदवारी दिएको बताईन् । उनले जनताको मत र मन जितेर विजयी हुने विश्वास व्यक्त गरिन् ।
यस्तै उम्मेदवारद्धयले आफ्नो प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् । प्रतिवद्धतापत्रमा वृद्धवृद्धा आमाबुवालाई वृद्धाश्रम छोड्ने छोराछोरीलाई दण्डित गरिने उल्लेख छ । यस्तै ५० वर्ष भन्दा माथिका आमाबुवा र जेष्ठ नागरिकलाई सम्मानपूर्वक उपचार र हेरचाह गरिने तथा वृद्धवृद्धा मैत्री मनोरन्जनपार्कको व्यवस्थापन गरिने पनि प्रतिवद्धतापत्रमा भनिएको छ ।


कक्षा १२ सम्म अनिवार्य शिक्षा, भरतपुरलाई फोहोररहित शहर, महिलालाई घरमै बसी आयमुलक कार्यको व्यवस्थापन, एेलानी जग्गा खोजी व्यवसायिक संस्था र बिरामी कुरुवा घर बनाउने उपमेयर पदकी उम्मेदवार जोशीले बताईन् ।
उनले ढल निकास र प्रदुषणरहित नारायणी नदी, तटबन्धको स्थायी व्यवस्थापन, प्रविधिमैत्री शिक्षा, अपाङ्ग, महिला र उत्पीडित विपन्न वर्गले सञ्चालन गरेको व्यवसायमा कर सहुलियत, महानगरबासीको अनिवार्य स्वास्थ्य बीमा, महानगरकै लगानीमा विपन्न वर्गका नागरिकको स्वास्थ्य बीमा, अनलाइन भुक्तानीलगायतको व्यवस्था गरिने बताईन् ।
यसैबीच स्वतन्त्र उम्मेदवारद्धयले आजबाट घर दैलो अभियान पनि सुरु गरेका छन् । शनिबार चुनाव चिन्ह पाएसँगै आजबाट घरदैलो अभियान सुरु गरिएको हो । भरतपुरको २९ वटै वडामा घरदैलो कार्यक्रम गरिने मेयर पदका उम्मेदवार श्रेष्ठले बताए । उनीहरुले ‘खाने पानीको धारा’ चुनाव चिन्ह पाएका छन् ।