भरतपुर – भरतपुर महानगरपालिकाका मेयर पदका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले घरदैलो अभियान सुरू गरेका छन्। शनिबार निर्वाचन कार्यालयबाट चुनाव चिन्ह प्राप्त गरेपछि चुनावी अभियान औपचारिकरूपमा सुरू गरेका हुन्। स्वतन्त्रबाट उमेदवारी दिएका नेपाली कांग्रेसका नेता पौडेलले चुनाव चिन्ह भने भुईँ कटहर प्राप्त गरेका छन्।
आज बिहान ७ बजेदेखि नै चुनावी अभियान सुरू गर्ने पूर्वयोजना भए पनि मौसम प्रतिकूल भइदिँदा बल्ल सुरू गरिएको नेता पौडेलले बताए। भरतपुर–७, पिपलचोकस्थित आफ्नै निवासबाट सुरू गरेको चुनावी अभियानअन्तर्गत अहिले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको वीपी कोइरालाको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम चलिरहेको छ।त्यसपछि पुनः निवास फर्किएर त्यहीँबाट सबै वडामा चुनावी अभियानलाई घरदैलो गर्दै जाने उनको भनाइ छ। घरदैलो अभियानमा उनका समर्थक र कार्यकर्ता सक्रिय छन्।