चितवन – भरतपुर महानगरपालिकाका बिभिन्न ठाउँमा भाँचिएको बिजुलीको पुल उठाउन नसक्दा विद्युत सेवा सुचारुमा समस्या भएको छ ।
शुक्रबार साँझ हावाहुरीसहितको वर्षाले नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्र अन्तर्गत पर्ने बिभिन्न ठाउँमा २५ वटा पोल भाँचिएको थियो । भाँचिएको पोलहरु उठाउन नसक्दा विद्युत सेवा सुचारु हुन नसकेको चनौली वितरण केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भरतपुर महानगरपालिका २३ बेलट्टामा चार थान पोल भाँचिएर खडकौलीको ५० केभीए ट्रान्स्फर्मर बन्द भएको छ । यस्तै पहरीलो टारमा १ थान पोल भाँचिएको केन्द्रले जनाएको छ ।
उता भरतपुर २५ लेबरनगर ४ थान, भरतपुर २६ खयरघारीमा एक थान, भरतपुर २६ सिसैमा दुई थान, देबौलीमा तीन थान पोल भाँचिएको छ । यस्तै दबौलीमा जम्पर पनि काटिएको केन्द्रले जानकारी दिएको छ ।
उता भरतपुर १८ हिमाली टोलमा ४ थान पोल भाँचिनुका साथै माडी नगरपालिका ३ मा ट्रान्सफर्मर जलेको छ । यी स्थानहरुमा भोलि मात्र विद्युत सेवा सुचारु हुने बताईएको छ । आज बिहान र साँझको हावाहुरीसहितको वर्षाले मर्मतमा समस्या भएको समेत केन्द्रले जनाएको छ ।