चार हजारभन्दा धेरैको उम्मेदवारी फिर्ता

एटुजेड समाचार

काठमाण्डाै – आउँदो ३० गते हुने पालिका चुनावको लागि उम्मेदवारी दिएकामध्ये चार हजारभन्दा धेरैले फिर्ता लिएका छन् ।वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारलाई हिजो बेलुकी ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो । तथ्याङ्क सङ्कलनको काम भइरहेकाले फिर्ता लिनेको सङ्ख्या थपघट हुन सक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगकाअनुसार देशभरबाट एक लाख ५३ हजार २ सय २० जना उम्मेदवार छन्।

चुनावी कार्यतालिकाअनुसार आज उम्मेदवारलाई चुनाव चिह्न दिइनेछ । सत्ता गठबन्धनले स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन दबाब दिए पनि भरतपुर, पोखरा लगायतका ठाउँमा उम्मेदवारी कायमै छ ।

यसैबीच पालिका चुनावमा एमालेका उम्मेदवार सबैभन्दा बढी छन् । आयोगकाअनुसार एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ । यस्तै नेपाली कांग्रेसले सबै पदमा गरी ३१ हजार ४२५ जना उम्मेदवार उठाएको छ । माओवादी केन्द्रले पुरुष १३ हजार ३०२ र महिला ८ हजार ९७७ जना गरी २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । यस्तै पालिका चुनावको लागि देशभरबाट १२ हजार ७८९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ३५ हजार २२१ पदका लागि आउँदो ३० गते मतदान हुँदैछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू