भरतपुरको बिकासका लागि उन्नत पार्टीको तमसुकपत्र : शिक्षा र स्वास्थ्य प्राथमिकतामा

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएको उन्नत लोकतन्त्र पार्टी चितवनले ६३ बुँदे करार तमसुक पत्र सार्वजनिक गरेको छ ।

पार्टीले भरतपुर महानगरपालिकाको विकासका लागि ६३ बुँदे करार तमसुक पत्र सार्वजनिक गरेको हो । जिल्ला संयोजक तथा भरतपुर महानगर मेयरका उम्मेदवार दिपेन्द्र बास्तोलाले सार्वजनिक गरेको तमसुक पत्रमा शिक्षा र स्वास्थ्यलाई बिशेष प्राथमिकता दिईएको छ ।

तमसुकपत्रमा सामुदायिक र निजी शैक्षिक संस्थाको बढ्दो दुरी अन्त्य गर्न समान तथा नि:शुल्क शिक्षा लागु गर्ने उल्लेख छ । यस्तै मेयर उच्च शिक्षा छात्रावृद्धि कार्यक्रम सञ्चालन गरेर पिएचडी गर्न चाहने १० जना विद्यार्थी र स्नाकोत्तरका ५० जनालाई अध्ययन अनुसन्धानका लागि वार्षिका २ करोड उपलबध गराउने पनि तमसुकमा भनिएको छ ।

महानगरभित्र निःशुल्क सरकारी स्वास्थ्य सेवा, महानगरबासीहरुको नि:शुल्क स्वास्थ्य बीमा, स्वास्थ्य क्षेत्रमा राजनीतिक नियुक्ती अन्त्य गरी प्रतिस्पर्धाबाट नियुक्ती गरिने पनि तलसुकपत्रमा उल्लेख छ ।

प्रतिघर मासिक १० हजार लिटर स्वच्छ खानेपानी निःशुल्क वितरण गरिने, सबै घरमा विद्युत निशुल्क वितरण गर्ने लगायतका योजनाहरु समावेश गरिएका छन् ।

गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालालाई पूर्णता दिने, स्टोरी टेलिङ सेन्टर विकास गर्ने, ट्याक्स फ्रि जोन घोषणा, ६ ठाउँमा फ्लाई ओभर पुल बनाउने, नारायणीमा सी ब्रीज परियोजनालाई बहुउपयोगी परियोजनाका रुपमा विकास गर्ने लगयातका योजनाहरु समेटिएका छन् ।महानगर भित्र ठूला सार्वजनिक यातायात सञ्चालन गरिने, विद्युतिय सार्वजनिक तथा निजी यातायातमा जोड दिईने बसपार्क र चार्जिङ स्टेसनको बिकास गरिने पनि उल्लेख छ ।

मेयरका उम्मेदवार बास्तोलाले पुराना दलबाट विकास सम्भव नभएकाले उम्मेदवारी दिएको दाबी गरे । उनले सबै दललाई जनताले परीक्षण गरेको र जनभावना अनुसार बिकास नभएको उनले बताए । ठूला दलका आश्वासनबाट जनता आजित भइसकेको समेत उनको भनाइ छ । भरतपुरको मेयरसहित उन्नत लोकतन्त्र पार्टीले वडा नम्बर १४ को वडाध्यक्षमा पनि उम्मेदवारी दिएको छ । वडा नम्बर १४ मा कृष्णप्रसाद अधिकारीले वडाध्यक्षमा उम्मेदवार हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू