भरतपूर ११ को विकास र समृद्धिका लागि मेराे उम्मेदवारी : युवराज पौडेल

एटुजेड समाचार

चितवन – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै देशभर चुनावी चहलपहल तीव्र भएको छ। स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता भएसँगै चितवनमा पनि चुनावी चहलपहल तीव्र बढेको हो।

राजनैतिक दलहरूले उम्मेदवारी दर्ता गरेपछि आम-मतदाता पनि उत्सुक हुँदै, योग्य उम्मेदवारलाई जिताउन चुनावी अभियान नै सुरु गरेका छन्।

यस्तै, भरतपुर महानगरपालिकाको वडा नम्बर ११ को वडाध्यक्ष पदको लागि सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका युवराज पौडेलले उम्मेदवारी दिएका छन्। वडाको विकास र समृद्धिका लागि गठबन्धनबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताए।

पौडेलले वडाध्यक्ष पदमा विजयी हासिल गरेपछि गाउँमा खानेपानी, सडक, विद्युत्, स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले नमुना वडाका रूपमा विकास गर्न आफू तयार रहेको बताए।

‘विकासको सुनिश्चितता कायम राख्नको लागि भरतपुर महानगरपालिका वडा नम्बर ११ को वडाध्यक्षको लागि उम्मेदवारी दिएको हुँ,‘ उनले भने। वडामा विकासको निरन्तरताको लागि पौडेललाई गठबन्धनको साझा उम्मेदवार बनाएको पार्टीका वडा नेताहरू बताउँछन्।

को हुन् वडाध्यक्षका उम्मेदवार पौडेल ?

विं.स.२०१६ सालमा पोखराको पुरनचौरमा जन्मिएर २०२१ सालमा चितवनको नौरङेमा बसाइँ सरेका पौडेल हाल भरतपुर-११ विशालचोकका स्थायी बासिन्दा हुन्। पार्टीको वडा इन्चार्ज रहेका पौडेलले विभिन्न सामाजिक सङ्घ संस्थाहरूमा रहेर काम पनि गरिरहेका छन्।

नयाँ किरण मा.वि. बाट सुरु गरेका स्कुले जीवन नारायणी मा.विराट पूरा गरेका हुन्। २०३६ सालदेखि विद्यार्थी आन्दोलनमा लागेका पौडेल २०४२ सालदेखि पार्टीको क्रियाशील सदस्य भएका थिए।

विं.सं. २०४० सालमा हिमालयन स्कुलको संस्थापक शिक्षक भएका उनले २०४६ सालसम्म त्यही स्कुलमा अध्यापन गराए। त्यसपछि जनआन्दोलनमा सहयोग गरेकै कारण उनी तत्कालीन समयमा शिक्षक पेसाबाट विस्थापित हुनु परेको थियो।

समझदारी सहकारीको संस्थापक सदस्य हुँदै पूर्व अध्यक्षको समेत कार्यभार समाली सकेका पौडेल भरतपुर ११ मा रहेको नवजागृति सामुदायिक वन उपभोक्ता समूहको पूर्व अध्यक्ष समेत हुन्।

चितवन उद्योग सङ्घको कार्यसमिति सदस्यमा रहेर काम गरिसकेका पौडेल हाल कमला देवी मन्दिरको सल्लाहकार, जनउदय समन्वय टोल विकास संस्थाको सल्लाहकार तथा समझदारी भो जाड सहकारीको अध्यक्ष समेत हुन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू