अभिषेक चर्चले जित्यो विशाल स्मृति कपको उपाधि

एटुजेड समाचार

भरतपुर – दोस्रो विशाल स्मृति कप फुटबलको उपाधि अभिषेक चर्च रजहले जितेको छ। आज (बिहीबार) सम्पन्न फाइनल खेलमा हर्दी युवा क्लबलाई २-१ ले पाखा लगाउँदै रजहरले उपाधि जितेको हो ।

रोमाञ्चक खेलमा रजहरलाई च्याम्पियन बनाउन बिकास लामा र सन्जोग महर्जनले गोल गरे । हर्दीका विज्ञान चौधरीले एक गोल गरे।

प्रतिस्पर्धात्मक खेलमा अग्रता भने हर्दीले लिएको थियो । २० औं मिनेटमा विज्ञान चौधरीले गोल गर्दै हर्दीलाई अग्रता दिलाए । डिबक्स बाहिरबाट उनले आकर्षक गोल गरे ।

तर हर्दीको अग्रता ३ मिनेट पनि टिकेन । २३ औं मिनेटमा बिकास लामा फ्री किकमा सुन्दर गोल गर्दै बराबरी गरे । ६९ औं मिनेटमा सन्जोग महर्जनले गोल गरेपछि रजहर च्याम्पियन बन्यो । सन्जोग नै प्लेयर अफ दि म्याच चुनिए ।

उपाधि जितेको रजहरले एक लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित हर्दीले ५० हजार प्राप्त गरेको छ ।

हर्दीका सुनिल श्रेष्ठ प्रतियोगिताभरका सर्वोकृष्ट खेलाडी घोषित भए । हर्दीका मिड्फिल्डर अन्जन चौधरी प्रतियोगिताको उत्कृष्ट मिडफिल्डर घोषित भए । यस्तै हर्दीकै रन्जन चौधरी उत्कृष्ट डिफेन्डर तथा रजहरका अदित गुरुङ उत्कृष्ट गोलकिपर चुनिए ।

रामपुर फुटबल क्लब र शारदा युवा क्लबको आयोजनामा भरतपुर १९ स्थित शारदानगर माविको मैदानमा भएको प्रतियोगितामा १२ टोली सहभागी थिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू