चितवन – लुटपाट गरी ल्याएको लत्ता कपडासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवनको खैरहनी नगरपालिका २ सिमलघारीका १९ वर्षीय पवन भट्टराई, राप्ती नगरपालिका ८ खुखुरेका २४ वर्षीय मनिष केसी र खैरहनी नगरपालिका ९ सिमलटाँडीका ३९ वर्षीय ऋषिराम शर्मा रहेका छन् ।
उनीहरुले बुधवार बिहान वीरगन्जबाट खुद्रा सामान र लत्ता कपडाहरू लोड गरी आउँदै गरेका ना ३ ख ७६२९ र ना ३ ख ७६५६ नम्बरको ट्रकबाट लत्ता कपडा लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
समान लोड गरिएका उक्त ट्रकहरू बिहान ८:४० बजे पुर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका १ नयाँवस्ती सडकखण्डमा आईपुग्दा ५/७ जनाको समूहमा रहेका नकावधारी व्यक्तिहरूले लुटपाट गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले चालकलाई ज्यान मार्ने धम्की दिएर ट्रकमा रहेका लत्ता कपडा लगायतका सामानहरू प्रदेश २-०३-००१ च ०८४७ र बागमती प्रदेश ०३-००१ च ०६६३ नम्बरको गाडीमा हालेको चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।
खोजतलास गर्ने क्रममा बुधवार नै बागमती प्रदेश ०३-००१ च ०६६३ नम्बरको गाडी राप्ती ०८ विरेन्द्रनगरमा फेला परेको थियो । गाडीसँगै प्रहरीले चालक पवन भट्टराई र गाडीमा सवार मनिष केसीलाई नियन्त्रणमा लिएको थियो ।
यस्तै प्रदेश २-०३-००१ च ०८४७ नम्बरको गाडीसहित चालक ऋषिराम शर्मालाई खैरहनी ९ सिमलटाँडीबाट नियन्त्रणमा लिईएको डिएसपी अधिकारीले बताए । प्रारम्भिक सोधपुछपछि उनीहरुले रत्ननगर नगरपालिका १४ लौरीघोल स्थित गाई फाराममा लुकाई छिपाई राखेको सामान बरामत गरिएको उनले बताए ।
ट्रकमा रहेका बाँकी कपडाहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको उनले बताए । लुटपाटमा प्रयोग गरिएको सवारी साधन सहित पक्राउमा परेका मानिसहरूलाई डाँका चोरी कसूरमा चितवन जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाईएको अधिकारीले जानाकरी दिए । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलास भई रहेको समेत उनले बताए ।