चितवन – मनोनयन दर्तापछि सत्ता गठबन्धन भरतपुर महानगरपालिकाको चुनावी तयारीमा होमिएको छ ।
आज (बिहीबार) भरतपुरमा सत्ता गठबन्धनले निर्वाचन कार्यालयको उद्घाटन गरेको छ । गठबन्धनबाट भरतपुर महानगर प्रमुखका उम्मेदवार रेनु दाहाल र उपप्रमुखका उम्मेदवार चित्रसेन अधिकारीले आज संयुक्त रुपमा निर्वाचन कार्यालयको उद्घाटन गरेका हुन् ।


उद्घाटनपछि बोल्दै मेयरकी उम्मेदवार दाहालले आजबाट गठबन्धनको कार्यक्रम सुरु भएको बताईन् । उनले वडा तहसम्म नै पाँच दलिय गठबन्धन हुने बताईन् । उनले वडा तहमा आ-आफ्नै ढङ्गले उम्मेदवारी दर्ता भएकोले शुक्रबारसम्म त्यसलाई पनि टुंगो लगाउने प्रयास गरिने बताईन् ।
उनले २०७४ मा कांग्रेससँगको गठबन्धनबाट बनेको नेतृत्वले भरतपुरमा बिकासको मोडल तयार भएको बताईन् । उनले भरतपुरलाई आर्थिक बिकासको केन्द्र बनाउनका लागि पाँच दलिय गठबन्धन गरेर चुनावमा होमिएको बताईन् ।
उनले भरतपुरमा बिकासको जग खडा भएको भन्दै जनताको मत जितेर भरतपुरलाई देशकै नमूना शहर बनाउने प्रतिवद्धता जनाईन् । उनले भरतपुरलाई भ्रष्टचारमुक्त महानगर बनाउने बताईन् ।
केपी ओलीको प्रतिगमकारी प्रवृति परास्त गर्नका लागि यस पटक पनि भरतपुरमा पाँच दलिय गठबन्धन भएको उनको भनाइ थियो । संविधानको रक्षा र परिवर्तन विरोधीलाई परास्त गर्नका लागी गठबन्धन आवश्यक रहेको बताईन् ।
फरक प्रसङ्गमा उनले नारायणगढको कमलनगरस्थित एक व्यवसायीक भवनमा भएको आगलागीको मुल्याङ्कन गरी राहतको लागि अपिल गर्ने बताईन् ।
गठबन्धनबाट भरतपुरको उपमेयरका उम्मेदवार अधिकारीले गठबन्धनको उम्मेदवारहरुलाई विजयी गराउने गरी चुनावी अभियानमा अघि बढ्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे । उनले गठबन्धन भित्र विवाद नगर्न समेत उनले आग्रह गरे ।
एउटै डुङ्गामा सहयात्रा गरिरहेका गठबन्धन भित्र विवाद गर्दा सबै डुब्न सक्ने भन्दै एक जुट भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । उनले गठबन्धनलाई स्वाभाविक रुपमा लिन आग्रह गरे ।
उनले वडातहसम्म नै गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेकोले भन्दै गठबन्धन बाहिरबाट उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन आग्रह गरे । उनले देशको समृद्धिका तिनै तहको निर्वाचनमा अहिलेको पाँच दलिय गठबन्धन आवश्यक रहेको बताए ।