चितवन – भरतपुर महानगरपालिकाको मेयर नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन गृहमन्त्री बालकृष्ण उनको निवासमा पुगेका छन् ।
बुधवार कांग्रेस सभापति देउवाको दुत बनेर चितवन आएका खाँडले आज बिहान पौडेललाई उनकै निवासमा भेटेका हुन् । भेटमा उनले उम्मेदवारी फिर्ता लिन पौडेलसँग आग्रह गरेका थिए ।
तर पौडेलले खाँडको प्रस्ताव अस्वीकार गरेका छन् । उनले भरतपुरको मेयरमा दिएको उम्मेदवारी फिर्ता नलिने अडान राखेका छन् । राज्यमन्त्री उमेश श्रेष्ठ, कांग्रेस चितवनका सभापति राजेश्वर खनालसहित मन्त्री खाँड पौडेल निवास पुगेका थिए ।
यस अघि आजै बिहान राज्यमन्त्री श्रेष्ठले पनि छुट्टै पौडेलसँग भेट गरेका थिए । उनले पनि पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।
केन्द्रीय गठबन्धनले भरतपुरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने निर्णय गरेपछि कांग्रेसका नेता कार्यकर्ता रुष्ट भएका थिए । असन्तुष्ट पक्षले कांग्रेसबाट भरतपुरको मेयरमा पौडेललाई उठाउने निर्णय गरेको थियो । जस अनुसार पौडेलले १२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए ।
उता कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन् । देउवाले पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिनेहरूलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका हुन् ।
आज अपिल जारी गर्दै सभापति देउवाले शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन भनेका छन्। चितवनलगायत विभिन्न जिल्लाका कांग्रेसकै कार्यकर्ताले बागी उम्मेदवारी दिएका छन्।