चितवन – बैशाख २३ गतेबाट देशभर एक साथ प्रदर्शन हुने चलचित्र ‘लक्का जवान’ बिभिन्न शहरमा प्रचार प्रसार सुरु गरेको छ । प्रचार प्रसारकै क्रममा चलचित्र युनिट आज (मंगलबार) चितवन आइपुगेको छ । चितवनमा चलचित्र युनिटले स्थानीय पत्रकारसँग भेटघाट गरेको छ ।
चलचित्र युनिटले ‘लक्का जवान’ मा नेपाली समाजको अर्गानिक कथा उठाएको बताएको छ । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक शिवहरि ढकालले चलचित्रमा गाउँ घर समाजको कथालाई देखाउन खोजिएको बताए ।


उनले चलचित्रमा कतैबाट आयातित कथा नभई नेपाली समाजकै अर्गानिक कथा प्रस्तुत गरिएको बताए । यस्तै उनले चलचित्रमा दर्शकले टेलिभिजनको पर्दामा देखेका ४० भन्दा बढी कलकारहरुले अभिनय गरेको बताए ।
उनले पछिल्लो समय साथ फिल्मले नेपाली बजार ओगट्डै गएको भन्दै ‘लक्का जवान’ कथा र बिषयबस्तुको हकमा कुनै पनि चलचित्रसँग प्रतिस्पर्धा गर्न तयार रहेको समेत बताए । उनले नेपाली चलचित्र हेर्दै नहेरी नराम्रो भन्नु भन्दा हेरेर राम्रो नराम्रो प्रतिकृया दिन पनि आग्रह गरे । उनले स्थानीय तहको निर्वाचनले चलचित्रलाई खास्सै असर नगर्ने दावी गरे ।
निर्माता ध्रुव वन्तले चलचित्र निर्माण गर्ने धेरै समय देखिको चाहना ‘लक्का जवान’ बाट पुरा भएको बताए । उनले अमेरिका बसाईकै क्रममा चलचित्र निर्माणको योजना बनेको समेत सुनाए । उनले तीन वर्ष अघि निर्माण भएको चलचित्र कोभिडका कारण प्रदर्शनमा ढिलाई भएको बताए ।
कलाकार किरण केसीले चलचित्र ८० प्रतिशत कमेडीले भरिएको बताए । चलचित्रमा दर्शकलाई सोचनिए बनाउने र रुवाउने कथाबस्तु पनि रहेको उनले बताए । उनले चलचित्रको संगीत पक्ष पनि बलियो रहेको दाबी गरे ।
नायक दिलिप रायमाझीले चलचित्रमा घर-घरको कथा रहेको बताए । उनले ‘लक्का जवान’ लाई कथै कथाको मिश्रणको रुपमा व्याख्या गरे । उनले चलचित्रको कथाले दर्शकको मन छुने दावी गरे । उनले चलचित्रमा आफुले देश छोडेर विदेशिएको युवाको भूमिका निभाएको बताए ।
नायक सलोन बस्नेतले ‘लक्का जवान’ लाई शुद्ध नेपाली कथा बोलेको चलचित्रको रुपमा व्याख्या गरे । उनले नेपाली समाजमा देखे सुनेको कथा नै चलचित्रमा उठाईएको बताए ।
निर्देशक पौडेलले नै चलचित्रको कथा, पटकथा र संवाद तयार पारेका हुन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, वर्षा सिवाकोटी, राजाराम पौडेल, सुशील पोख्रेल, स्वर्गीय जयनन्द लामा, सरोज खनाल, मनिषा श्रेष्ठलगायतको पनि अभिनय रहेको छ ।
पुरुषोत्तम प्रधानले खिचेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । चलचित्रको ट्रेलर र दुई वटा गीत युट्युबमा सार्वजनिक भइसकेको छ ।