चितवन – अभिषेक चर्च रजहर भरतपुरमा जारी विशाल स्मृति कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आज (सोमबार) सम्पन्न दोस्रो सेमिफाइनल खेलमा रामपुर फुटबल क्लब (रड्स) लाई टाईब्रेकरमा स्तब्ध पार्दै रजहर फाइनलमा प्रवेश गरेको हो । टाईब्रेकरमा रजहरले रामपुरलाई ४-३ ले पाखा लगायो ।
त्यसअघि निर्धारित निर्धारित समयमा दुबै तर्फबाट १-१ गोलको बराबरीमा सकिएको थियो । रामपुरका अनिल रानामगर खेलको म्यान अफ दि म्याच चुनिए ।
रजहरले अब उपाधिका लागि हर्दी युवा समाजको सामना गर्नेछ । हर्दी पहिलो सेमिफाइनलमा केबिए ग्लोबललाई पाखा लगाउदै फाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको फाइनल बिहीबार हुनेछ । रामपुर फुटबल क्लब र शारदा युवा क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् ।