चितवन – चितवनमा आयातित संक्रमितका कारण औलोको जोखिम कायमै रहेको छ । स्थानीय संक्रमित शुन्य भए पनि आयातित संक्रमितका कारण जोखिम कायमै रहेको हो ।
चालु आर्थिक वर्षमा चितवनमा स्थानीय संक्रमित शुन्य छ । तर यही अवधिमा पाँच जना आयातित संक्रमित पाईएको औलो दिवसको अवसरमा आज (सोमबार) स्वास्थ्य कार्यालय चितवनका आयोजित कार्यक्रम मार्फत जानकारी गराईएको छ ।


कार्यालयका अनुसार चालु आवमा दुई हजार २४० जनामा औलो परीक्षण गरिएको थियो । जसमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये दुई जनामा प्लाज्मोडियम फाल्सिपारम र तीन जनामा प्लाज्मोडियम भाइभेक्स देखिएको निमिक्त कार्यालयका निमित्त प्रमुख राम केसीले जानकारी दिए ।
चालु आवमा संक्रमण पुष्टि भएका सबै संक्रमित आयातित नै भए पनि उनीहरुबाट फैलिने जोखिम भने कायमै रहेको उनले बताए । स्थानीय स्तरमा नै नभई बाहिरबाट आएकाहरुमा देखिने संक्रमणलाई आयातित भनिन्छ ।
बिशेष गरी अफ्रिकी मुलुकबाट आउनेमा औलोंको जोखिम बढी हुने उनले बताए । बाहिरबाट आएकाहरुमा औलोको लक्षण देखिए पनि परीक्षण नगरि घरमै बस्दा त्यसले समाजमा संक्रमन फलिने जिखिम बढी हुने उनले बताए ।
ज्वरो आइरहने वा बिराएर आउने, टाउको दुख्ने र वान्ता हुने, जाडो हुने, शरीर काँप्ने तथा पसिना आएर ज्वरो घटी थकान महसुस भए औलो परीक्षण गर्न उनको आग्रह छ ।
चितवनमा आव ०७५/०७६ मा ८ हजार ५१४ जनाको परीक्षण गर्दा १० जनामा औलो संक्रमण पुष्टि भएको थियो । ती मध्ये नौ जना आयातित र एक जना स्थानीय बिरामी हुन् । यस्तै ०६७/७७ मा ६ हजार १८ जनाको परीक्षण गर्दा सात आयातित र दुई स्थानीय गरी नौं जना तथा ०७७/७८ मा २ हजार ६२८ जनाको परीक्षण गर्दा एक जना आयातितमा संक्रमण पुष्टि भएको थियो ।
औलोबाट बच्नका लागि घर वरपर पानी जम्न नदिने, लामखुट्टेको टोकाईबाट बच्ने, समुदायमा कसैलाई लक्षण देखिएमा परीक्षण गर्ने, झुल प्रयोग गर्ने जस्ता कार्य गर्न सकिन्छ । नेपाललाई सन् २०२५ सम्म औलोमुक्त बनाउने सरकारको योजना रहेको छ । २०२२ सम्म स्थानीय संक्रमित शुन्य बनाउने योजना छ ।
औलो बारे रिपोर्टिङलाई सजिलो बनाउन सरकार एसएमएस सिस्टम लागु गरेको छ । यसबाट कुनै पनि स्वास्थ्य संस्थामा औलोका संक्रमित भेटिए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराउन सकिनेछ । सरकारले औलो ज्वरोको औषधि निःशुल्क उपलब्ध गराईदै आएको छ ।
यसैबीच औलोबाट बच्नका लागि स्वास्थ्य कार्यालय चितवनले आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म आठ हजार ९२३ गर्भवती महिलालाई किटनाषक झुल वितरण गरेको छ । आव २०७५/७६ मा चार हजार २७५, ०७६/७७ मा तीन हजार ६९८, ०७७/७८ मा आठ सय ८९ तथा चालु आवमा ६१ जनालाई झुल वितरण गरिएको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिईन् ।
एनोफलीज जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा औलो सर्ने गर्दछ । संसारमा चार सय जातका एनोफलीज लामखुट्टेहरु पाईने तथ्यांक रहेको छ । प्राकृतिक अवस्थामा ६० जात मात्र औलोको परजीविबाहक प्रमाणित भएका छन् भने नेपालमा हाल सम्म ४३ जातका एनोफलीज लामखुट्टेहरु पाइएका छन् । ती मध्ये एनोफीलीज मिनिमस्, एनोफलीज् फ्लूभियाटिलीज्, एनोफलीज् माय्कुलाटस् कम्प्लेक्स, एनोफलीज् एनुलारीज् गरी चार जातले मात्र औलो सार्ने गर्दछ ।