भरतपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले भरतपुर महानगर र माडी नगरपालिकामा मेयर र उपमेयर दुबै पदमा उम्मेदवारी दिने भएको छ । राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले अन्य पालिकामा जस्तै महानगर र माडीमा पनि एकल चुनावमा जाने बताए । उनका अनुसार राप्रपा भरतपुर महानगरका अध्यक्ष दिपक थापा लाई मेयरको उम्मेदवार बनाइने छ ।
उपमेयरमा पनि उम्मेदवार उठाउने स्रोेतले जनाएको छ । उपमेयरमा ३ जना आकांक्षी रहेकाले भोलि एक जना सर्वसम्मत उम्मेदवार छनौट हुने जनाइएको छ । यसअघि महानगरमा एमालेसँग चुनावी तालमेल गर्ने चर्चा चलेपनि राप्रपा एकल चुनावमा जान लागेको हो ।


यस्तै राप्रपाको बलियो जनाधार रहेको क्षेत्र माडीमा पनि मेयर र उपमेयरमा उम्मेदवारी दिइने छ । मेयरमा मदनप्रसाद पौडेल र उपमेयरमा फूलमाया महतोलाई उम्मेदवार बनाउने तयारी छ । राप्रपाले चितवनका ७ वटै पालिकाको प्रमुख, उपप्रमुख, ९८ वडामै वडाध्यक्ष, सदस्य पदहरुमा समेत उम्मेदवारी दिइने जनाएको छ । राप्रपा र एमाले सँगको चुनावी तालमेलको सम्भावना नहुने देखिएको हो । आज राप्रपाका जिल्ला नेताहरु केन्द्रीय नेताहरुसँग समन्वय गर्दै बसेको बैठकले चितवनमा चुनावी तालमेल नगर्ने निष्कर्षमा पुगेको हो ।