टाईब्रेकरमा बिएफसीलाई हराउँदै हर्दी विशाल स्मृति कपको फाइनलमा

एटुजेड समाचार

भरतपुर – हर्दी युवा क्लब भरतपुरमा जारी विशाल स्मृति कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज (आइतबार) सम्पन्न पहिलो सेमिफाइनल खेलमा केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) लाई टाईब्रेकरमा स्तब्ध पार्दै हर्दी फाइनलमा प्रवेश गरेको हो । टाईब्रेकरमा हर्दीले बिएफसीलाई ३-२ ले पाखा लगायो ।

त्यसअघि निर्धारित निर्धारित समयमा दुबै तर्फबाट २-२ गोल भएको थियो । निर्धारित समयमा लिएको २ गोलको अग्रता जोगाउन नसक्दा बिएफसीको यात्रा सेमिफाइनलसम्म मात्रै सीमित भयो ।

खेलको चौथो मिनेटमा नै सुरेश कुमालले बिएफसीलाई अग्रता दिलाएका थिए । १५ औं मिनेटमा रुमेश बर्तौलाले गोल गर्दै बिएफसीलाई दोहोरो अग्रता दिलाए ।

२-० ले पछि परेको अवस्थाबाट हर्दीले खेलको नतिजा उल्टायो । ४१ औं मिनेटमा बिमश सुचिकारले गोल गर्दै हर्दीलाई खेलमा फर्काउने संकेत गरे । ६१ औं मिनेटमा हर्दीका सशिल थापा मगरले बराबरी गोल फर्काए । बाँकी समयमा थप गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा हर्दीले बाजि मार्‍यो ।

खेलको म्यान अफ दि म्याच हर्दीका गोलरक्षक बिक्रम तामाङ घोषित भए । फाइनल प्रवेश गरेको हर्दी अब उपाधिका लागि रामपुर फुटबल क्लब (रड्स) र अभिषेक चर्च रजहरबीचको विजेतासँग भिड्नेछ । रामपुर र रजहरबीचको दोस्रो सेमिफाइनल खेल सोमबार हुनेछ ।

रामपुर फुटबल क्लब र शारदा युवा क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू