काँग्रेसबाट महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुंग्याउने जिम्मा देउवालाई

एटुजेड समाचार

काठमाडौं – नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट महानगर र उपमहानगरपालिकाको उम्मेदवारको टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेको छ ।

आज (आइतबार) पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देउवालाई उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिएको उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

बैठकले महानगरपालिकाको टिकट वितरणका लागि १४ सदस्यीय संसदीय समिति गठन गरेपनि अन्ततः देउवालाई नै टिकट वितरणको अधिकार प्रत्यायोजन गरिएको हो । यस्तै उपमहानगरपालिकाको टिकट प्रदेश संसदीय बोर्डले वितरण गर्ने वैधानिक व्यवस्था भएकामा त्यो अधिकार पनि खोसेर देउवामा प्रत्यायोजित गरिएको छ । अब देउवाले पार्टीका तर्फबाट लड्ने मेयर तथा उपमेयरको उम्मेदवार नेताहरूसँगको परामर्शको आधारमा टुंगो लगाउनेछन् ।​

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयर पदमा उम्मेदवार उठाउने छ भने वीरगन्ज, भरतपुर र पोखरामा उपमेयर पदमा उम्मेदवार उठाउने छ । यस्तै उपमहानगरतर्फ धरान, इटहरी, कलैया, बुटवल, तुल्सीपुर, नेपालगन्ज र धनगढीमा मेयर उम्मेदवार उठाउने छ । यसैगरी जितपुर सिमरा, घोराही र हेटौडामा उपमेयरमा कांग्रेसले आफ्नो उम्मेदवार उठाउनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु