काठमाडौं – नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरपालिकामा उठ्ने उम्मेदवारको टुंगो लगाएको छ । देशैभरका ६ महानगरमध्ये समाजवादीले भाग पाएको पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पदमा उम्मेदवार टुंगो लगाएको हो ।
यस्तै ११ उपमहानगरमध्ये समाजवादीले पाएको हेटौंडाको मेयर सहित इटहरी, बुटवल र तुलसीपुरको उपमेयरमा उठ्ने उम्मेदवारको लगाइएको समाजवादीका एक नेताले बताए ।


पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई मेयर पदको उम्मेदवार बनाउने निर्णय भएको ती नेताले बताए। यस्तै काठमाडौं उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको ती नेताले बताए।
श्रेष्ठलाई उम्मेदवार बनाएको सार्वजनिक गरेमा विवाद हुने भएकाले नाम भने गोप्य राखिएको छ । आइतबार श्रेष्ठले काठमाडौं उपमेयरमा उम्मेदवारी दिने ती नेताको दाबी छ ।
यस्तै हेटौँडा उपमहानगरपालिकाको मेयरमा मीना लामा, बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपमेयरमा जोगबहादुर राना, इटहरी उपमहानगरपालिको मेयरमा केशव विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको पनि ती नेताले बताए।