भरतपुरको पाँच वर्षे समिक्षा : ६२२ किमि सडक कालोपत्रे, दूधमा तीन रुपैयाँ अनुदान
चितवन – भरतपुर महानगरपालिकाका जनप्रतिनिधिहरुको पाँच वर्षे कार्यकाल समिक्षा पुस्तक विमोचन गरिएको छ ।
आज (शुक्रबार) विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच मेयर रेनु दाहाल र उपमेयर पार्वती शाह ठकुरीले समिक्षा पुस्तक विमोचन गरेका हुन् ।
२०७४ मा स्थानीय सरकार आएपछि भरतपुर महानगरमा ६ सय २२ किलोमिटर सडक कालोपत्रे गरिएको छ । आर्थिक वर्ष २०७४-७५ मा ५० किलोमिटर सडक कालोपत्रे गरिएको थियो । यस्तै आव ०७५-७६ मा ७५ किलोमिटर, ०७६-७७ मा एक सय ४७ किलोमिटर, ०७७-७८ मा दुई सय २५ तथा चालु आव ०७८-७९ मा एक सय २५ किलोमिटर सडक कालोपत्रे गरिएको पुस्तकमा उल्लेख छ ।
यस्तै सोही अवधिमा दुई सय चार किलोमिटर सडक मर्मत तथा पु:निर्माण गरिएको छ । भने एक सय ६५ किलोमटर सडक ग्राभेल, दुई सय ९५ किलोमिटर ग्राभेल सडक स्तरोन्नती, एक सय ९० किलोमिटर कच्ची सडक ढलान तथा २४ किलोमिटर सडकमा मोजाइक विस्तार गरिएको उल्लेख छ । पाँच वर्षे कार्यकालमा भरतपुरले सडकलाई बिशेष प्राथमिकतामा राखेको मेयर रेनु दाहालले बताईन् ।
यस्तै महानगरले पाँच वर्षमा १३ वडामा नयाँ वडा कार्यालय भवन निर्माण गरेको छ भने १४ वटा वडा कार्यालय भवन मर्मत तथा व्यवस्थापन गरेको छ । यस्तै २६ वटा स्वास्थ्य संस्थाका भवन निर्माण तथा मर्मत र एक सय ४६ वटा सामुदायिक विद्यालय भवन निर्माण तथा मर्मत गरिएको महानगरले जनाएको छ ।
महानगरको पाँच वर्षे कार्यकालमा दुई सय ३० वटा खानेपानी धारा निर्माणका साथै आठ सय ६३ सुरक्षित आवास निर्माण गरिएको पुस्तकमा उल्लेख छ । यस्तै तीन सय ७८ बोरिङ्ग सिचाँई तथा एक सय २३ सडक मार्किङ पनि गरिएको उल्लेख छ ।
पाँच वर्षे कार्यकालमा शिक्षालाई पनि महानगरले प्राथमिकतामा राखेको मेयर दाहालले बताईन् । यस अवधिमा सामुदायिक विद्यालयमा करिब ६ हजार विद्यार्थी संख्या वृद्धि भएको महानगरले जनाएको छ ।
शिक्षालाई व्यवस्थित तथा सुदृढ गर्नका लागि महानगरले शिक्षा सम्बन्धी बिभिन्न नीति तथा कानुन निर्माण गरी कार्यान्वयन गरेको छ । भरतपुर महानगरपालिका शिक्षा ऐन २०७५, विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७५, शिक्षा नीति २०७६ लगायतका बिभिन्न १० वटा नीति तथा कानुन निर्माण गरी कार्यान्वयन गरिएको छ ।
यस्तै कृषि तथा पशुपालनलाई पनि महानगरले प्राथमिककता दिएको छ । महानगरले किसानलाई दूधमा प्रतिलिटर तीन रुपैयाँ अनुदान कायम गरेको छ । प्रतिलिटर २५ पैसाबाट सुरु भएको अनुदान बढाएर तीन रुपैयाँ पुर्याईएको छ । यसका लागि चालु आर्थिक वर्षमा एक करोड ७० लाख लिटर दूधका लागि पाँच करोड १० लाख बजेत विनियोजन गरिएको छ । यसबाट प्रत्येक वर्ष करिब सात सय किसान लाभान्वित हुने अनुमान छ ।
महानगरको राजश्व ३ गुणाले बढेको छ । गत वर्ष १ अर्ब ५ करोड राजश्व संकलन भएको उपमेयर पार्वती शाह ठकुरी बताईन् । यस्तै महानगरको न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ बमोजिम ५७ वटा मुद्धाहरु न्यायिक समितिको इजलासबाट किनारा लगाईएको उनले बताईन् ।
यस्तै निवेदनबाट उजुरी प्राप्त दुई सय एक वटा मुद्धाक्जो दुबै पक्षको छलफलबाट आपसी समझदारी कायम गरी मेलमिलाप तथा सम्बन्धित पक्षलाई न्याय दिलाईको उनले बताईन् ।
महानगरले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, पुल्चोक गोन्द्राङ ६ लेन सडक, भरतपुर मेट्रो प्लाजा, औद्योगिक ग्राम निर्माण, स्मार्ट स्ट्रिट लाइट, महानगरीय सिटी हल, महानगरीय रिंगरोड र लिंकरोड, अटोल्याण्ड, नारायणी नदी सीबीच मोडेल, ल्याण्ड फिल्ड साइट लगायतका १६ वटा गौरवका योजानाहरु कार्यान्वयनका चरणमा पुगेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले २० वर्षमा हुने काम महानगरले पाँच वर्षमा नै गरेको बताए ।
तपाइँको प्रतिक्रिया