सानदार जित निकाल्दै रामपुर विशाल स्मृति कपको सेमिफाइनमा
चितवन – रामपुर फुटबल क्लब (रड्स) भरतपुर १९ मा जारी स्वार्गीय विशाल स्मृति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज (बिहीबार) भएको खेलमा एफसी भरतपुर ९ विरुद्ध सानदार जित हात पार्दै रामपुरले सेमिफाइनलमा स्थान बनाएको हो । रामपुरले एफसी भरतपुरलाई ७-३ को फराकिलो अन्तरले पराजित गरेको हो ।
रामपुरको जितमा अनिल राना मगर एक्लैले चार गोल गरे । यस्तै सलिल ढकाल, अमृत गुरुङ र विशाल तामाङले एक-एक गोल गरे । एफसी भरतपुरका मिलन दुराले दुई तथा मनिष दुराले एक गोल गरे ।
सुरूबाट नै एफसी भरतपुरलाई दबाबमा राखेको रामपुरले खेलको पहिलो मिनेटमा नै अग्रता लियो । उसका लागि सलिलले पहिलो गोल गरे । तर आठौं मिनेटमा मिलनले एफसी भरतपुरका लागि बराबरी गोल फर्काए ।
१८ औं मिनेटमा अमृतले गोल गर्दै रामपुरलाई फेरि अग्रता दिलाए । २० औं मिनेटमा अनिलले गोल गरेपछि रामपुरले खेलमा ३-१ को अग्रता लियो । २२ औं मिनेटमा एफसी भरतपुरका मनिषले गोल गर्दै रामपुरको अग्रता छोट्टाए ।
३८ औं मिनेटमा अनिलले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा रामपुरले ४-२ को अग्रता लियो । ५२ औं मिनेटमा विशालले गोल गरेपछि रामपुर ५-२ को अग्रता लिन सफल भयो । ६४ औं मिनेटमा मिलनले गोल गर्दै फेरि रामपुरको अग्रता घटाए ।
६६ औं मिनेटमा अनिलले हृयाट्रिक पूरा गरेपछि रामपुरले अग्रता लम्बायो ।
७० औं अनिलले व्यक्तिगत चौथो गोल गरेपछि रामपुरले ७-३ को सानदार जित दर्ता गर्यो । अनिल नै खेलको म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगितामा शुक्रबार क्वाटरफाइनल चरणको तेस्रो खेल हुनेछ। शुक्रबार महेन्द्र ट्र्याक्टर पटिहानी एफसी र हर्दी युवा समाज भिड्नेछन् । पटिहानी कालिका स्पोर्ट्स एकेडेमीलाई पाखा लगाउँदै क्वाटरफाइनल प्रवेश गरेको हो । उता हर्दीले भने बाई पाएको हो ।
रामपुर फुटबल क्लब र शारदा युवा क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् ।
तपाइँको प्रतिक्रिया