चितवन – माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबारबाट हुँदैछ । चितवनमा शुक्रबारबाट हुने एसईईको तयारी पुरा भएको छ ।
कोरोना कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो। यस पटक भने बाह्य मूल्यांकनबाट नै परीक्षा हुने भएको हो ।
चितवनमा यस वर्ष १२ हजार १५८ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् । उनीमध्ये छात्र ६ हजार १९२ र छात्रा पाँच हजार ९६२ जना रहेका छन् । यो संख्या गत वर्ष भन्दा नौं सय ७२ ले बढी हो । गत वर्ष ११ हजार १८६ जनाले विद्यार्थीले परीक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाइ भरतपुरका प्रमुख भूमिलाल सुवेदीले जानकारी दिए ।
उनका अनुसार चितवनमा एसइई परीक्षाका लागि ४२ वटा परीक्षा केन्द्र तोकिएको छ । जस मध्ये भरतपुर महानगरपालिकामा २२ वटा रहेका छन् । यस्तै रत्ननगर नगरपालिकामा सात, खैरहनीमा चार, राप्तीमा तीन तथा कालिका, माडी र इच्छाकामना गाउँपालिकामा समान दुई-दुई वटा परीक्षा केन्द्र तोकिएको सुवेदीले जानकारी दिए ।