माडी – बलियो जनाधार रहेको माडीमा राप्रपाले चुनाव परिचालन कमिटि गठन गरेको छ । युवा नेता तथा प्रदेश ३ (ख) का कोषाध्यक्ष टोजमान गुरुङ (पारस) को संयोजकत्वमा ५ सय १ सदस्यीय परिचालन कमिटि गठन भएको हो ।
वैशाख ३० मा हुने स्थानीय तहको चुनावलाई लक्षित गरी माडीमा अन्य ५ वटा कमिटिहरु पनि गठन भएका छन् । लिलकुमार गुरौँको संयोकत्वमा अनुमगन तथा मूल्यांकन कमिटि, भीमबहादुर कुँवरको संयोकत्वमा आर्थिक परिचालन कमिटि, सुरेश गुरुङको संयोकत्वमा युवा परिचालन कमिटि, सञ्जयकाजी महतोको संयोकत्वमा सूचना सम्प्रेशण कमिटि गठन भएको छ । यस्तै राप्रपाका संस्थापक नेता केवल चौधरीको संयोकत्वमा सल्लाहकार कमिटि गठन भएको छ ।


सल्लाहकार कमिटिमा गंगाधर न्यौपाने, मेघनाथ न्यौपाने, क्याप्टेन विशन गुरुङ, एकनारायण न्यौपाने, डण्डपाणी न्यौपाने, जानकीदत्त बराल, निरबहादुर रानाभाट, शम्भु पौडेल लगायतका नेताहरुलाई सल्लाहकार कमिटिमा राखिएको छ । राप्रपाले २०७४ सालको स्थानीय चुनावमा थोरै मतान्तरले मेयर पद गुमाएको थियो । यसपालीको चुनावमा माडी नगरपालिकाको नेतृत्व लिने रणनीतिमा चुनावी अभियानलाई तीव्र पारेको छ ।
राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले राप्रपाले यसपाली माडीको मेयर, उपमेयर र धेरै वडामा जनप्रतिनिधि जित्ने दाबी गरे । पूर्वमन्त्री तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले सांसद तथा मन्त्री रहदा सुरु गरेका पुल, रिंगरोड लगायतका विकास योजनालाई पुरा गर्न राप्रपाकै नेतृत्व खाँचो देखिएको बताए ।राप्रपाका जिल्ला सदस्य लिलकुमार गुरौले भ्रष्टाचार रहित नगरपालिका बनाउन राप्रपालाई जनताले विश्वास गर्ने बताए ।
राप्रपाका क्षेत्रीय अध्यक्ष मदन पौडेलले दोस्रो चरणको चुनावी घरदैलो सुरु भएको जानकारी दिए । प्रदेश ३ (ख) अध्यक्ष रामकृष्ण क्षेत्रीले चुनावी अभियानबाट जनगुनासाहरु संकलन गरिएको बताए । राप्रपा माडीका अध्यक्ष वीरेन्द्र भण्डारीले राप्रपाले केही दिनमै माडी नगरपालिकाका लागि सबै पदहरुमा उम्मेदवारहरु छनौट गरिने बताए । उनले राप्रपाले माडीको मेयर, उपमेयर जितेमा माडीमा कक्षा १२ सम्म निःशुल्क पढाउने योजना लागु गरिने बताए ।