चितवन – गत भदौमा नेपाली राष्ट्रिय महिला फुटबल टोली बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलको तयारीमा थियो । घरेलु मैदान दशरथ रंगशालामा घरेलु समर्थकका अगाडि खेल्न चेलीहरु उत्साहित थिए ।
भदौ २७ गते नेपालले बंगलादेशसँग पहिलो खेल खेल्दै थियो । तत्कालिन मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशसँग खेल्ने आफ्नो टिम तयार पारिसकेका थिए । खेलको अघिल्लो दिन खेलाडीहरुको स्वास्थ्य परीक्षण भयो ।
परीक्षणको रिपोर्ट सबैको राम्रै आयो, केबल एक खेलाडी छोडेर । ति एक खेलाडी हुन् पुनम जर्घा मगर । नेपाली टिमकी खम्बा पुनमको रिपोर्ट अप्रत्यासित नै आयो । मेडिकल रिपोर्टमा उनको मुटुमा प्वाल देखा पर्यो ।
यो खबर पुनमका लागि मात्रै होइन, सारा नेपाली फुटबल प्रेमीहरुका लागि अप्रत्यासित थियो । रिपोर्ट अनुसार पुनमले भोलिपल्टको खेल मात्रै होइन, कहिल्यै फुटबल खेल्न नसक्ने अवस्था आउन सक्ने धेरैको आँकलन थियो ।
पुनमलाई आफु माथि आकाशै खसे झै भयो । फुटबल प्रेमीहरुलाई नेपाली महिला टोलीको दरिलो खम्बा गर्ल्यामगुर्लुम ढले झै भयो । पुनमलाई विश्वास नै भइरहेको थिएन । उनलाई त्यो खबर पत्याउन किन पनि कठिन भइरहेको थियो भने, फुटबल खेल्न थालेको करिब १२ वर्ष भइसक्दा पनि उनलाई कहिल्यै गाह्रो महसुस भएको थिएन ।
फुटबलमा खेलको क्रममा चोट बोक्नु सामान्य बिषय नै हो । चोटकै कारण सीमित समय फुटबलबाट टाढा रहनु पनि सामान्य जस्तो नै हो । तर आजीवन फुटबल नै खेल्न नसक्ने अवस्था आउँनु चाँही साच्चै नै मृत्यु भन्दा कठिन परिस्थिति हो ।
पुनमलाई पनि यस्तै भयो । खेलको मुखैमा आएको त्यो खबरले पुनमलाई सम्हालिन निकै कठिन भयो । उनका आँखा रसाईरहे । त्यो पल पुनमको छट्पटाहहट रोकिएन । तर पनि रिपोर्ट एकातिर र पुनमको आँट अर्कातिर ।
रिपोर्टले उनको अवस्था जती नै खराब देखाए पनि उनलाई भने आफु खेल्न सक्छु भन्ने लागिरह्यो । प्रशिक्षकले उनलाई टिमबाट बाहिर राखे । तर पुनम भने अन्तिम समयसम्म पनि खेल्न चाहिरहेकी थिईन् । आफुलाई खेलाउन उनले आग्रह गरिरहिन् ।
राष्ट्रिय महिला टोलीले पहिलो पटक दशरथ रंगशालामा खेल्दै थियो । यही कारण पनि पुनम त्यो अवसर गुमाउन चाहन्न थिईन् । हुन त स्वास्थ्य सबै भन्दा महत्त्वपूर्ण हुन्छ । तर त्यस बखत पुनमका लागि महत्त्वपूर्ण थियो त केबल फुटबल । उनी मैदानमा ज्यान दिन तयार थिईन्, तर फुटबल छोड्ने बारे भने कल्पना पनि गर्न सकिरहेकी थिईनन् ।
उनलाई मुटुमा देखिएको समस्या भन्दा पनि फुटबल जीवन समाप्त हुन्छ कि भन्ने डरले निकै पिरोल्यो । ‘मलाई स्वास्थ्य भन्दा पनि फुटबल खेल्न सक्दिन भन्दा चाँही एकदमै गाह्रो भएको थियो, उनी भन्छिन्, ‘बरु म मरु तर फुटबल खेल्छु भन्ने लागेको थियो । मर्नै परे फुटबल खेलेर मर्छु जस्तो भएको थियो ।’
त्यो दिन पुनमका आँखा ओभानो हुन पाएन । उनले घरमा भन्ने आँट पनि गर्न सकिनन् । घरमा आमाकै हौसलाले उनी फुटबलमा होमिएकी थिईन् । सायद आमाको साथ नपाएको भए उनलाई फुटबल खेलाडीको रुपमा पाउने थिएनौं । यही कारण उनले घरमा आमालाई आफ्नो अवस्था बारे जानकारी दिने हिम्मत जुटाउन सकिनन् ।
उनले भाईलाई भने आफ्नो रिपोर्ट बारे सुनाईन् । दिदी भाई नै धेरै बेर रोए । भोलि पल्ट खेलको दिन मैदानमा १२ नेपाली खेलाडी प्रवेश गरे । शल्यक्रियापछि पुनम फेरि मैदान उत्रिन सक्ने सम्भावना न्युन देखेर उनलाई १२ औं खेलाडीको रुपमा मैदान प्रवेश गराईएको थियो । राष्ट्रिय गानमा सरिक भएर उनले मैदान छाडिन् । त्यती बेलासम्म मैदानमा के भइरहेको छ कसैके मेसो पाएनन् ।
विस्तारै उनको मुटुमा समस्या देखिएको भन्दै चौतर्फी समाचार आयो । पुनम अब सायदै मैदान फर्किन सक्ने अवस्थामा पुग्छिन् भन्ने समाचारले सारा नेपालीलाई दुखिद तुल्यायो । आमालाई भन्ने आँट नगरेकी पुनमको समाचार घरसम्म पुग्यो । समाचारबाटै आमाले छोरीको अवस्था बारे थाहा पाईन् ।
छोरीको खबरले आमा विक्षिप्त भईन् । छोरीको अवस्थाको खबरले आमा पनि अश्वस्थ भईन् । एक त छोरीको मुटुको समस्याको खबर, त्यही माथि छोरीले अब कहिल्यै खेल्न सक्दैन भनेर गाउँघर वरपरकाले सुनाउँदा आमालाई सम्हालिन निकै गाह्रो भयो । आमा पनि बिरामी भईन् । आमालाई प्रेसरले च्याप्यो । काठमाडौंमा पुनमको शल्यक्रिया हुँदा आमा पनि अस्पताल भर्ना भईन् ।
ति दिन सम्झिदा पुनमका आँखा अझै पनि रसाउँछन् । ‘ममीले समाचार देख्नु भएछ । धेरैले के-के हुन्छ भनेर सुनाएछन् । ममीले धेरै टेन्सन लिनु भयो । धेरै टेन्सनले नशाको समस्या भएर ममीको मुख बाङ्गो भएको थियो, आँखा रसिलो पार्दै पुनम भन्छिन्, ‘मेरो अप्रेसनको अघिल्लो दिन ममी पनि उपचारका लागि काठमाडौं आउनु भएको थियो । त्यो बेला मलाई एकदमै गाह्रो भएको थियो ।’ अहिले उनको आमा श्वस्थ छिन् ।
२०२० को युरो कपको क्रममा डेनिस खेलाडी क्रिस्टियन एरिक्सन मैदानमा ढलेको घटना ताजै थियो । उनी खेलमा फर्न सक्ने वा नसक्ने अन्यौल थियो । उता मुटुकै समस्याका कारण अर्जेन्टिनी खेलाडी सर्जियो अगुएरोले खेल जीवनबाटै सन्यास लिनु परेको थियो । यस्ता घटनाले पुनमको खेल जीवन के होला भन्ने चिन्ता पैदा गरेको थियो । डेनिस खेलाडी एरिक्सन अहिले खेलमा फर्किसकेका छन् ।
असोजमा पुनमको मुटुको सफल शल्यक्रिया भयो । शल्यक्रियापछि उनले फेरि खेल्न सक्नेमा धेरैले शंका व्यक्त गरिरहेका थिए । शल्यक्रियापछि आराममा रहेकी पुनमले फेरि फुटबल खेल्न मैदान उत्रिने सपनालाई भने आरम दिईनन्। चिकित्सकसँगको भेटमा उनी जहिल्यै ‘कहिले अभ्यासमा फर्किन सक्छु ?’ भन्ने प्रश्न गर्थिन् । तर चिकित्सकबाट सधैं एउटै उत्तर आउँथ्यो, ‘अहिले आराम गर, फुटबलको होइन, स्वास्थ्यको ख्याल गर ।’
‘म डक्टरलाई कहिलेदेखि ट्रेनिङ गर्न सक्छु भनेर सोधिरहन्थे । सरले तिमी बिरामी छौं, आराम गर भन्नु हुन्थ्यो । आराम गर, खेलमा मात्रै ध्यान नदेउ भन्नु हुन्थ्यो, पुनम भन्छिन्, ‘मलाई चाँही कहिले ठीक भएर ट्रेनिङ सुरु गरु भन्ने मात्रै आतुर हुन्थ्यो ।’ नेपाल आर्मीकी पुनमले हिम्मत भने कहिल्यै हारिरन् । फेरि मैदान फर्किने जिद्धिपना पनि त्यागिनन् । मैदानमा उत्रिन नपाए पनि भित्र भित्रैबाट आफुलाई बलियो बनाईन् ।
चिकित्सकले उनलाई कम्तीमा ६ महिना आराम गरेपछि स्वास्थ्य अवस्था बारे थप भन्न सक्ने बताएका थिए । त्यो अवधि उनका लागि वर्षौं वर्ष झै भइरहेको थियो । त्यही माथि साथीहरु अभ्यासमा, बन्द प्रशिक्षणमा रहेको भन्ने सुन्दा उनी छट्पटिन्थिन् । मुटुको समस्या नभएको भए आफु पनि साथीहरुसँग अभ्यासमा हुन्थे भन्ने सोचिरहन्थिन् । तर उनको अगाडि आराम गरेर थप अवस्था ‘पर्ख र हेर’ को विकल्प थिएन ।
पुनम फेरि मैदान फर्कनेमा भने ढुक्क थिईन् । त्यही अनुसार साहस बटुक्दै आफुलाई मानसिक रुपमा पनि तयार पार्दै थिईन् । अन्तत: उनको हिम्मत र साहसको अगाडि कसैको केही लागेन । चिकित्सकले ६ महिना पूर्ण रुपमा आराम गर्नुपर्छ भनेकी पुनम तीन महिनामा नै सामान्य अभ्यासमा फर्किन सक्ने अवस्थामा आईन् । दिन प्रतिदिन उनको रिपोर्टमा सुधार देखियो ।
उनको स्वास्थ्यमा निकै छोटो समयमा देखिएको सुधारले चिकित्सकहरु पनि दंग परे । मुटुको शल्यक्रिया गरेको तीन महिनामा नै पुनम अभ्यासमा फर्किईन् । ८ महिनापछि उनी खेलमा फर्किईन् । चितवनको भरतपुरमा सम्पन्न राष्ट्रिय महिला लिगको पहिलो खेलमा उनले सशस्त्र प्रहरी वल (एपिएफ) एफसीविरुद्धको खेलबाट कमब्याक गरिन् ।
महिला लिगमै उनले पुलिसविरुद्ध गोल समेत गरिन् । शल्यक्रियापछि फर्किएको भए पनि डर भने नलाग्ने उनी बताउँछिन् । अहिले पुनम पूर्ण रुपमा फिट भइसकेकी छन् । उनी राष्ट्रिय टिमबाट खेल्न आतुर पनि छन् ।
दिदीको पाइला पछ्याउँदै फुटबलमा लागेकी पुनम
पुनमको फुटबलको सुरुवाती दिन सहज भने थिएन । रौतहटकी पुनम घाँस दाउरा गर्दै फुटबलमा लागेकी हुन् । धान, मकै, घाँस, दाउराको काम गरेर पनि उनी फुटबलका लागि समय छुट्टाउथिन् ।
तराईको चर्को घाममा दिउँसो काम गर्न निकै गाह्रो हुन्थ्यो । तर उनले फुटबलका लागि घाम पानी केही भनिनन् । फुटबलको अभ्यास अपरान्ह ४ बजेपछि सुरु हुन्थ्यो । खेतमा काम पनि सोही समयमा । तर पुनम त्यस अघि नै चर्को घामको प्रवाह नगरी काम सक्थिन् र ४ बजेपछि फुटबल अभ्यासका लागि मैदान पुग्थिन् ।
फुटबलमा लाग्नुको कारण हो उनको दिदी । पुनम भन्दा अगाडि उनको दिदी पनि फुटबल खेल्थिन् । उनले दिदीले फुटबल खेलेको देखेको थिईन् । दिदीलाई हेर्दा हेर्दै उनलाई पनि खेलाडी बन्ने इच्छा जाग्यो ।
फुटबल खेल्दा खेल्दै दिदीको विवाह भयो । दिदीको खेल गाउँमा मात्रै सीमित भयो । तर दिदीको पाइला पछ्याउँदै फुटबलमा लागेकी पुनमले भने कुनै दिन राष्ट्रिय टिमबाट खेल्ने सपना बुनिन् । गाउँमा शेरबहादुर दर्लामी प्रशिक्षक थिए । घरबाट आमाले पनि पुनमलाई पूर्ण रुपमा सहयोग गरिन् ।
उनकै दिदीसँग खेल्न सुरु गरेका अनु लामा, तेज गुरुङ जस्ता खेलाडीले राष्ट्रिय टिमबाट खेल्थे । उनको आमाको सपना पुनमलाई पनि राष्ट्रिय टिमबाट खेलेको हेर्ने थियो ।
उनले रौतहटबाट फुटबल खेल्न सुरु गरिन् । पाँचौ राष्ट्रिय खेलमा उनले मध्यमाञ्चलबाट खेलेकी थिईन् । उनको खेल आर्मीका तत्कालिन प्रशिक्षक कृष्णसिंह ठगुन्नाको नजरमा पर्यो । ठगुन्नाले पुनमको नम्बर लिए । पछि उनले पुनमलाई आर्मीमा बोलाए । सन् २०१४ मा पुनम आर्मीमा गईन् र त्यहीबाट फुटबल खेल्न सुरु गरिन् ।
आर्मीका गएपछि उनलाई राष्ट्रिय टिममा पर्न धेरै समय लागेन । आर्मीबाट खेल्न थालेको एक वर्षमा नै उनी राष्ट्रिय टिममा अटाईन् । सन् २०१४ मा पाकिस्तानमा सम्पन्न साफ च्याम्पियनसिपमा उनी पहिलो पटक राष्ट्रिय टिमा परिन् । सोही साफ च्याम्पियनसिपमा उनले श्रीलंकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरिन् ।
राष्ट्रिय जर्सी लगाएर पहिलो पटक देशका लागि खेल्दाको अनुभव शब्दमा बयानै गर्न नसकिने उनी बताउँछिन् । उनले अर्को खेलाडीको डबल पहेँलो कार्डका कारण मौका पाएकी थिईन् । त्यो अवसरलाई सदुपायोग गर्दै उनले आफुलाई प्रमाणित गरिन् । त्यसयता उनी नियमित राष्ट्रिय टोलीबाट खेल्दै आएकी छन् । उनले राष्ट्रिय टिमबाट १ गोलसमेत गरेकी छन् ।
चितवनमा पुनमलाई सम्मान
चितवन जिल्ला फुटबल संघले राष्ट्रिय टिम तथा त्रिभुवन आर्मी फुटबल क्लबकी डिफेन्डर पुनम जर्घा मगरलाई सम्मान गरेको छ । संघले पुनमलाई ५० हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरेको हो ।
चितवनको भरतपुरमा बुधबार राष्ट्रिय महिला लिगको पहिलो चरणको समापन समारोहको अवसरमा उनलाई सम्मान गरिएको हो । मुटुको समस्याका कारण लामो समय मैदान बाहिर रहेर कमब्याक गरेका पुनमलाई हौसला प्रदान गर्दै सम्मान गरिएको संघका अध्यक्ष श्री कृष्ण कार्कीले बताए ।
भिडियो अन्तर्वाता :