काठमाडौं – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगरे यसले मुलुकलाई नै सिध्याउने चेतावनी दिएका छन् ।भ्रष्टाचार मुलुकको सबैभन्दा गम्भीर समस्या भएको भन्दै सभामुख सापकोटाले ‘त्यसका विरुद्ध निसाना नसोझ्याए मुलुकलाई नै सिध्याउने’ बताएका हुन् । उनले आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
आइतबारदेखि काठमाडौंमा सुरु भएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’को उद्घाटन गर्दै उनले भ्रष्टाचार बढ्दै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खबरदारी गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए ।सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको कार्टुनिस्टहरूको अभियानलाई सातै प्रदेशमा लगेर प्रदर्शन गर्ने कार्यमा आफ्नो साथ रहने पनि बताए ।बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सो प्रदर्शनी तीन दिनसम्म चल्नेछ । सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि ‘क्षेप्यास्त्र हुने गरी’ कार्टुनहरू बनाउन पनि कार्टुनिस्टहरूलाई आग्रह गरे ।

