चितवन – नेपाली कांग्रेसमा गठबन्धन भित्रैका दलहरूसँग ‘मित्रवत प्रतिस्पर्धा’ को बहस सुरू भएको छ। शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पनि ‘मित्रवत प्रतिस्पर्धा’ को बहस चलेको थियो ।
बैठकमा बोलेका अधिकांश शीर्ष नेताहरूले छ वटै महानगरमा पार्टीबाट मेयर पदका लागि उम्मेदवार हुनुपर्ने अडान राखेका थिए। गठबन्धनभित्र पेचिलो बन्दै गएको चितवनको भरतपुर महानगर यसपालि नेकपा माओवादी केन्द्रलाई छोड्न नसकिने कांग्रेसका नेताहरूको भनाइ थियो। ०७४ मा कांग्रेसले माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई भोट दिएकोले यसपालि माओवादीले भरतपुर कांग्रेसलाई सहयोग गर्नुपर्ने नेताहरूको भनाइ थियो।



महामन्त्री विश्वप्रकाश शर्माले भरतपुर महानगरपालिकाका कांग्रेस र माओवादी केन्द्रले तालमेल नगर्ने प्रस्ताव अघि सारेका छन् । महामन्त्री शर्माले २०७४ मा माओवादीलाई मेयर छाडेकाले यो पटक कांग्रेसलाई सघाउनुपर्ने बताए । उनले भने, ‘हामी चाहन्छौं यो पटक माओवादीले कांग्रेसलाई छोडनु पर्छ ।’
अर्का महामन्त्री गगन थापाले चुनावी तालमेलको अधिकार स्थानीय पार्टी संरचनालाई छोड्नुपर्ने बताइरहेका छन्। ‘स्थानीय तहमा काम गरिरहेका साथीहरूको निर्णय र भावनालाई लत्याएर जान सकिन्न,’ थापाले भने, ‘साथीहरूको निर्णयअनुसार तालमेल गर्ने हो। स्थानीय साथीहरूको इच्छाविपरीत जाँदा पार्टीलाई राम्रो पनि गर्दैन।’ यसपालि नयाँ मतदाता पनि रहेकोले उनीहरूलाई पनि पार्टीमा समेटिनुपर्ने बताएका थिए।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि कतिपय ठाउँमा सत्तागठबन्धनभित्रै रहेका दलहरूबीच मित्रवत प्रतिस्पर्धा हुन सक्ने बताएका छन्। चितवन कांग्रेसले पनि अरू स्थानीय तहमा तालेमल गरे पनि भरतपुरको मेयर छोड्न नसक्ने अडान लिइरहेको छ।
कांग्रेसले छ महानगर र ११ उपमहानगरमा सत्तागठबन्धनबीच छलफल गरेर केन्द्रबाटै उम्मेदवार तय गर्न लागेको छ। विधानअनुसार उपमहानगरको टिकट प्रदेश संसदीय समितिले दिने हो। तर प्रदेशको सिफारिसमा केन्द्रबाट टिकट दिने तयारीमा कांग्रेस छ।