काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारूढ दलहरूबीच नै प्रतिस्पर्धा हुन सक्ने बताएका छन् ।नेकपा (एमाले)ले चुनाव हार्ने तर सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच आफैँले चुनाव जित्छु भन्ने लागेमा त्यहाँ फ्रेन्डेली प्रतिस्पर्धा हुने उनको भनाइ छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेका बेला उनले सञ्चारकर्मीमाझ गठबन्धन दलले कुनै पनि अवस्थामा एमालेसँग चुनावी तालमेल गर्न नमिल्ने गरी शीर्ष तहमा सहमति गरिएको स्पष्ट पारे । कुनै ठाउँमा गठबन्धन दलहरूबीचमै आ–आफ्नो दाबी रहे त्यहाँ चुनावी प्रतिस्पर्धा हुने उनले बताए ।


“कुनै ठाउँमा समझदारी हुन सकेन, त्यहाँ सबैको आ–आफ्नो दाबी रह्यो, मेरै त्यहाँ ज्यादा शक्ति छ, मेरै जनाधार बढेको छ, हामीले नै जित्छौँ, अर्को विपक्ष दल एमालेले जित्दैन भन्ने त्यस्तो स्थिति आयो भने त्यस्तो धेरै ठाउँमा आउन पनि सक्छ, त्यस्तो ठाउँमा फ्रेन्डली प्रतिस्पर्धा हुन पनि सक्छ,” उनले भने, “तर यहाँ हामी एकार्कामा मिलेन भनेर एमालेसँग गठबन्धन गर्न जाँदैनौँ । अरू दलसँग गठबन्धन गर्ने छैनौँ ।
त्यही नै सहमति शीर्ष तहमा भएको छ । त्यही मूलमर्म र भावनाअनुसार हुनेसम्म तालमेल गर्नुहोला भनेर म पार्टीको सम्बन्धित तहलाई आग्रह गर्दछु ।”प्रवक्ता महतले महानगरपालिका र उपमहानगरपालिका मेयर, उपमेयरबाहेकका सबै स्थानीय तहको उमेदवार सम्बन्धित कमिटीहरूकै गठबन्धनले तय गर्ने स्मरण गराए । स्थानीयस्तरमा कुनै समस्या भए तत्काल केन्द्रमा जानकारी गराउन पनि उनले सचेत गराए ।रासस