भरतपुर – भरतपुर महानगरको व्यस्त सडक मध्य चिनिन्छ भरतपुर हाइट । अत्यधिक सवारी चाप रहने विरेन्द्रक्याम्पस चोक देखि नारायणगढ पुल्चोक सम्म अहिले सडक निर्माण कार्य भइरहेको छ । भरतपुर महानगरपालिको कार्यालय, दुई ठूला सपिङ सेन्टर,विरेन्द्र बहुमुखी क्यापस, ठूला होटेल तथा चितवनकै मुख्य बजार क्षेत्र भएकाले यहाँ संधै जसो सवारी चाप देखिन्छ ।
सडकमा सवारी चाप र ट्राफिकको अस्तव्यवस्तताले दिनहुँ जसो सवारी दुर्घटना हुने क्षेत्रकै रुपमा चिनिने विरेन्द्रक्याम्पस चोक देखि भरतपुर ओरालोको भाटभटेनी क्षेत्र अहिले थप जोखिमयुक्त बनेको छ । विरेन्द्रक्याम्पस चोकमा रहेको सिजी ल्याण्डमार्क र भाटभटेनी आसपासमा भइरहेको निर्माणकार्यमा चरम लापरवाही देखिन्छ ।



डिभिजन सडक कार्यालयका अनुसार निर्माण कार्य भइरहेका क्षेत्रमा रिफ्लेक्टिङ लाइट, टेप र ठाँउ ठाँउमा बोर्ड तथा ट्राफिक कोन राखेर काम गर्नुपर्ने हुन्छ । साथै निर्माण कार्यमा संलग्न कर्मचारीहरुले सेफ्टी हेलमेट, रिफ्लेक्टर ज्याकेट अनिवार्य लगाउनुपर्ने हुन्छ । तर निर्माण कार्य सुरुभएको एक साता बितिसक्दा पनि यस क्षेत्रमा सुरक्षाका न्यूनतम आवश्यकता पालना गरेको देखिँदैन न त कर्मचारी तथा कामदारहरु नै सेफ्टी हेलमेट तथा रिफ्लेक्टर ज्याकेटमा देखिन्छन् । यसबारे सडक डिभिजन भरतपुरका सुचना अधिकारी शिव खनालसंग जिज्ञासा राख्दा सो क्षेत्रमा निर्माण कार्य सुरु भइसकेको बारे आफु जानकार नै नभएको बताए । नाला निर्माणको क्रममा सोलिङका लागि ढुंगा राख्न सुरु गरिएको छ । तर ती निर्माण सामग्री मापदण्ड अनुरुप भए नभएको अनुगमन समेत भएको देखिँदैन ।
पूर्व पश्चिम राजमार्गको अति नै व्यस्त क्षेत्रमा भइरहेको निर्माणकार्यले सवारी व्यवस्थापनमा समेत कठिनाई भएकाले सुरक्षा सर्तकता पालना गरिदिन पटक पटक आग्रह गरेको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख भगवानराज थापाले बताए । मुख्य चोकहरुमा मास हेडलाइट जडानका लागि खनिएको खाडल र सडकमा नाला निर्माण लागि खनिएको खाडल आसपासमा रिफ्लेक्टिङ टेप तथा ट्राफिक कोन राख्न आग्रह गरेको उनले बताए । “यो क्षेत्र दुर्घटनाको अधिक जोखिम क्षेत्र हो,” ट्राफिक प्रमुख थापाले भने ,“ न्यूनतम प्रावधान पुरा गरिदिन हामीले पटकपटक आग्रह पनि गरेका छौं तर सम्बन्धित निकायले ध्यान दिएकै छैन ।”
विरेन्द्र क्याम्पस चोक देखि भाटभटेनी क्षेत्रलाई मात्र हेर्ने हो भने यहाँ केही दिन देखि असरल्ल छरिएका निर्माण सामाग्री,जथाभावी थुप्¥याइएका ढुंङ्गा मात्र छन् । अटोलेबल मेसिन, थेरोलाइट ,टोटल स्टेसन, रेन्जिङ रड जस्ता सामाग्री जथाभावी सडकमा राखिएका देखिन्छन् । खनेर साँघुरो बनाइएको सडकमा जथाभावि राखिएका सामान पन्छाउँदै डिँड्दा खाल्डोमै खसिन्छ की जस्तो लाग्ने गरेको सर्वसाधारणले गुनासो गरे । “पार्किङको समस्या छँदै थियो त्यसमाथी बाटो खनेर डिँड्न अस्तव्यस्त भएको छ ,”एक सर्वसाारणले आक्रोश पोख्दै भने,“ अब यो सामानहरु पनि हामीले नै जोगाइँिदै हिड्नुपरेपछि हामी खाल्डोमा खसे के गर्ने । ”



केही महिना अघि मात्रै चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र डिभिजन वनबीचको क्षेत्रमा सडकछेउ खनिएको नालीमा खसेर एउटा भाले गैँडा मरेको घटनाले संरक्षणको क्षेत्रमा चासो दिनेहरुमाझ चर्चा बटुलेको थियो । राष्ट्रिय निकुञ्जले सडक डिभिजन कार्यालयको लापरबाहीका कारण उक्त संरक्षित वन्यजीवनको मृत्यु भएको निष्कर्ष निकालेको थियो । वन्यजन्तु आवतजावत गर्ने एउटा साँघुरो मार्गमा जसरी संवेदनशीलता र मूल्यांकनका साथ काम हुनुपर्ने थियो त्यो नदेखिएको संरक्षणकर्मीहरुको ठम्याई थियो । सोही निर्माण कार्य अहिले व्यस्त बजार क्षेत्रमा आइपुगेको छ । तर सुरक्षा संवेदनशीलता तर्फ निर्माण कम्पनी अझै पनि वेपरवाह देखिन्छ । आम सर्वसाधारणको ज्यान जोखिममा पारेर यस्ता निर्माण कार्य भइरहंदा सम्बन्धित निकायको ध्यान बेलैमा जानु पदैन र ?