चितवन – नेकपा एमाले चितवन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल चितवनबीच चुनावी तालमेलको बिषयमा छलफल भएको छ ।
आज (शनिबार) एमाले चितवनको पार्टी कार्यालयमा दुई दलबीच चुनावी तालमेलको बिषयमा छलफल भएको हो । कमल थापा नेतृत्वको राप्रपा नेपाल स्थानीय तहको चुनावमा सूर्य चिह्न लिएर उठ्ने सहमति भएको छ । केन्द्रीय सहमति अनुसार चितवनमा कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल भएको हो ।



छलफलले स्थानीय तहको निर्वाचनमा कार्यकर्ताको भावना अनुसार आपसी छलफलबाट उम्मेदवार टुङ्गो लगाउने निर्णय गरेको एमालेका पोलिटब्युरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले जानकारी दिए । राप्रपा नेपालले सूर्य चिन्हबाट चुनाव लड्ने केन्द्रीय सहमति अनुसार स्थानीय तहमा कसरी अघि बढ्ने बिषयमा छलफल भएको हो, उनले भने,’स्थानीय कार्यकर्ताको भावना अनुसार आपसी सल्लाहबाट उम्मेदवार उठाउने बिषयमा पनि छलफल भयो ।’
छलफलमा एमालेका तर्फबाट ज्ञवालीसँगै प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोख्रेल, राष्ट्रियसभा सदस्य, दिलकुमारी रावल (पार्वती) र एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने तथा राप्रपा नेपालको तर्फबाट सहमहामन्त्री सुनिल कुमार क्षेत्री, राप्रपा नेपाल चितवन अध्यक्ष बिष्णु खराल र वरिष्ठ उपाध्यक्ष बिष्णु गैरे सहभागी थिए ।