चितवन काँग्रेसका सभापति भन्छन् : चुनावको नतिजा प्रतिकुल आए जिम्मा लिन्नौँ

एटुजेड समाचार

चितवन – नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले आगामी स्थानीय तह निर्वाचनमा नतिजा प्रतिकुल आए आफूहरूले जिम्मा नलिने बताएका छन् । भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार नेकपा (माओवादी केन्द्र) लाई छाड्ने केन्द्रीय निर्णय भएमा त्यस्तो निर्णय मान्न आफू तयार भएको तर नतिजामा जिम्मेवार नहुने खनालले बताए ।

शुक्रबार चितवन आएका काँग्रेस नेता प्रकाशमान सिंहले गठबन्धन जोगाउन भरतपुर महानगर प्रमुख नेकपा (माओवादी केन्द्र) लाई छाड्ने गरी तालमेल हुने बताएका थिए । सिंहको भनाइले जिल्लामा पुनः तरंग ल्याएको छ । भरतपुरमा यसअघि नै एक पटक माओवादी केन्द्रलाई सहयोग गरिसकेकाले आलोपालोको मान्यताअनुसार यसपालि काँग्रेसले पाउनुपर्ने खनालले दोहोर्याए ।

‘काँग्रेस केन्द्रीय समितिले गरेको निर्णय त्योभन्दा तल्लो निकायले मान्न बाध्यकारी छौँ । म काँग्रेसको चितवन सभापति भएकाले पनि मान्न तयार छु । तर, निर्णय मान्ने हो कि निष्कर्षमा पुग्ने हो । जुन निकायले निर्णय गर्ने हो भोलि नतिजा अनुकूल वा प्रतिकुल हुँदा पनि त्यो निकायले पूर्ण रुपमा जिम्मा लिनुपर्छ,’ उनले भने ।

चितवन काँग्रेसले १५ दिनअघि नै संस्थागत निर्णय गरेर भरतपुर महानगरको मेयर नछाड्ने कुरा पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराईसकिएको उनले बताए । नजिता सकरात्मक आउने तरिका यो हो भनेर चितवन काँग्रेसले सघन छलफल गरेर केन्द्रीय समितिलाई लिखित प्रतिवेदन बुझाइसकेको भन्दै उनले एकात्मक खालको अवसरबाट गठबन्धनलाई स्थायित्व दिन नसकिने र जुनसुकै बेला दुर्घटनामा पर्न सक्ने बताए ।

‘समयको आवश्यकताअनुसार बनेको गठबन्धनसँग तालमेल गरेर अघि बढ्ने कुरामा तयार छौँ तर तालमेल जायज हुनुपर्यो । ग्राउण्ड सुहाउँदो हुनुपर्यो,’ उनले भने । नेपाली काँग्रेसको मूल्य, मान्यता, सिद्धान्त र विधानमा रुख चिह्नबाहेक अन्त पनि मत हाल भन्ने व्यवस्था नरहेको भन्दै उनले गठबन्धन गरेर अन्य चिह्नमा मत हाल्ने निर्णय गर्नु नै अनुशासनहीन काम भएको बताए ।

विगतमा गरेको सहयोग र वर्तमान संगठनको हिसाबले भरतपुर महानगरले मेयर कांग्रेसले पाउने गरी गठबन्धनका दलसँग चुनावी तालमेल गर्ने काँग्रेसको संस्थागत निर्णय रहेको उनले बताए । त्यही निर्णयलाई आत्मसात गर्दै अन्य तहमा तालमेल गर्न जिल्ला संयन्त्रमा सघन छलफल भइरहेको उनले जानकारी दिए । ‘पटक पटक मेरो पक्षमा नै हुनुपर्छ भन्ने दृष्टिकोणबाट गठबन्धन मजबुत हुन सक्दैन । एउटा पक्षलाई निराश बनाएर अर्को पक्ष सँधै खुसी हुने प्रवृत्तिबाट गठबन्धन सघन भएर जान सक्दैन,’ उनले भने ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू