चितवन – भरतपुरका ५० जना कांग्रेस नेता कार्यकर्ताले समूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १७ बेलुवाका नेता कार्यकर्ताले आज (शनिबार) एक कार्यक्रमको आयोजना गरी सामूहिक राजीनामा दिएका हुन् ।
स्थानीय अगुवा प्रकाश कँडेलको संयोजकत्वमा भएको कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको छ।


पूर्व वडाध्यक्ष देवनारायण महतो र पूर्वपार्टी वडा सभापति विष्णुप्रसाद सुवेदी सहित ५० जनाले सामूहिक राजिनामा दिएका हुन् । पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको आरोप लगाएको छ । पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेको र जनता भन्दा व्यक्ती र सम्पन्न बर्ग मुखि राजनीति चलेको लगाएतका बिषयबाट आजित भएको बताएका छन् । उनीहरुले पार्टीको साधारण सदस्यबाट राजीनामा दिए पनि देश र जनताको काममा सधैं रहिरहने बताएका छन् ।