चितवन – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गठबन्धन नभए स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र एक्लै लड्न तयार रहेको बताएकी छन् ।
एक अन्तर्वाताका क्रममा मेयर दाहालले भरतपुरमा गठबन्धन नभए माओवादी एक्लै लड्ने बताएकी हुन् । उनले माओवादी केन्द्रका लागि भरतपुर प्रतिष्ठाकै बिषय हुने समेत बताएकी छन् ।


‘सायद गठबन्धनमा सहमति हुन्छ होला । भएन भने हाम्रा लागि प्रतिष्ठाकै विषय हो । त्यसैले गठबन्धन भए पनि, सिंगल भए पनि हामी अगाडि बढ्छौं’, उनले भनेकी छन् ।
भरतपुरमा माओवादीले काम गरेर देखाएको भन्दै यही आधारमा फेरि मेयरको दाबी गरिने उनको भनाइ छ । ‘६ वटा महानगरमध्ये माओवादीले लिने कहाँ त ? हामीले भरतपुरमा काम गरेर देखाएका छौं, हाम्रो आधार छ । त्यसैले हाम्रो बटमलाइन हो, भरतपुर छोड्दैनौं’, उनले भनेकी छन् ।
उनले पार्टीले चाहे आफु फेरि मेयरमा लड्न तयार रहेको समेत बताएकी छन् । दोस्रो कार्यकालमा दोहोरिने व्यक्तिगत रूपमा इच्छा नभए पनि पार्टी चाहे गठनबन्धन वा एकल दुबैबाट लड्न आफु तयार रहेको उनको भनाइ छ ।
दोस्रो कार्यकालमा दोहोरिने व्यक्तिगत रूपमा इच्छा छैन । हिजो पार्टीले भनेको भरमा चुनाव लडेको हुँ । गठबन्धन त पछि न भएको हो, उनले भनिन्, पाँच वर्षमा विकासको जे काम थालनी भएको छ, त्यसलाई सम्पन्न गर्नुपर्छ, फेरि उठ भन्यो भने फेरि तयार हुनुपर्छ । मुख्य कुरा पार्टीले के भन्छ, त्यही हो । पार्टीले भन्यो भने सिंगल लड्न पनि तयार, गठबन्धन भए पनि तयार ।’