नेत्रज्योति संघ चितवनको साधारण सभा, कर्मचारी र संघ संस्था सम्मानित

एटुजेड समाचार

चितवन – नेपाल नेत्रज्योति संघ चितवन शाखाको २२ औँ साधारण सभा सम्पन्न भएको छ । संघले भरतपुर आँखा अस्पतालका कर्मचारी, अस्पताल र संघलाई सहयोग गर्ने विभिन्न संघ संस्थालाई सम्मान गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभामा बोल्दै प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष प्रा.डा. चेतराज पन्तले भरतपुर आँखा अस्पतालको छुट्टै गरिमा रहेको बताए । हाल देशमा रहेका ५६ हजार महिला स्वास्थ्य स्वयंसेविकाहरुको सुरुवात यसै आँखा अस्पतालबाट भएको बताउँदै उनले युएसएआईडीले सञ्चालन गरेको भिटामिन ए कार्यक्रमबाट महिला स्वास्थ्य स्वयंसेविकाको अवधारणा अघि बढेको जानकारी दिए ।

तत्कालिन अवस्थामा समाजमा रहेका अग्रणी महिलालाई परिचालन गरी बालबालिकालाई भिटामिन ए खुवाउने कार्यक्रमबाट महिला स्वयंसेविकाहरुको प्रचलन थालिएको बताए । उनले भने, “महिला स्वयंसेविका यसै जिल्लाबाट शुरुवात भएको हो ।”

संघको चितवन शाखाले देशमै उत्कृष्ट अस्पताल संचालन गरेको भन्दै उनले अझै राम्रो गर्न सुझाव दिए । उनले भने, “संघले भरतपुर आँखा अस्पताल र यसका सञ्जाल मार्फत् उत्कृष्ट सेवा दिंदै आएको छ । सेवालाई अझै स्तरीय र विस्तार गर्दै अघि बढ्नुहोस् ।”

कार्यक्रममा बागमती प्रदेशका श्रम, यातायात तथा रोजगार मन्त्री घनश्याम दाहालले आफू स्वयंले यसै अस्पतालमा दुवै आँखा शल्यक्रिया गरेको स्मरण गराउँदै यो अस्पताल प्रदेशकै नमूना अस्पतालको रुपमा विकास भएको बताए ।

बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले यस अस्पतामा विशिष्टकृत सेवा लिन देशभरबाट मात्रै नभई भारतका विभिन्न ठाउँहरुबाट समेत आउने गरेको बताउँदै भने “यो अस्पताल प्रदेश सरकारको गहना हो ।”

कार्यक्रममा नेत्रज्योति संघ बागमती प्रदेश समितिका सभापति ऋषिराम पौडेल, भरतपुर आँखा अस्पताललाई विगत लामो समयदेखि सहयोग गर्दै आएको विदेशी दातृ संस्था सेवा फाउण्डेशनका कन्ट्री डाईरेक्टर रामप्रसाद कँडेल, संघका कोषाध्यक्ष तेजेन्द्रबहादुर खड्का, सहसचिव केशव अधिकारी, लायन्स क्लबस् ईन्टरनेशनल ३२५ आरका इलेक्ट गभर्नर सिद्धार्थलाल चुके लगायतले शुभकामना बोलेका थिए । संघका अध्यक्ष कृष्णलाल धरेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।

सो अवसरमा अस्पतालका कर्मचारी र सहयोग गर्ने विभिन्न संघ संस्थालाई सम्मान गरिएको छ । साधारणसभाको बन्द सत्रमा कोषाध्यक्ष खड्काले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र सहसचिव केशव अधिकारीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन पारित भएको छ ।

संघले संचालन गरेको भरतपुर आँखा अस्पताल अन्तर्गत तीन प्रदेशका ६ जिल्लामा आँखा उपचार सेवा संचालन हुँदै आएको छ भरतपुर आँखा अस्पताल अन्तर्गत चार वटा अस्पताल र १३ वटा आँखा उपचार केन्द्र रहेका छन् ।

अस्पतालका प्रशासक दयाशंकर चौधरीले अस्पताल सञ्जालमार्फत् नेपाल र भारतका गरी वर्षिक १ लाख ५० हजार भन्दा बढीलाई सेवा दिंदै आएको बताए । सेवा फाउण्डेशन, लायन्स क्लबहरु लगायतका सामाजिक संस्थाहरु, स्थानीय दानवीरहरुको, सरकारी निकायको सहयोगमा अस्पताल संचालन हुँदै आएको छ ।

नेपालमा आँखा स्वास्थ्य सेवा प्रदायक संस्था नेत्रज्योति संघले २७ वटा आँखा अस्पताल सञ्चालन गरेको छ । जसमध्ये चितवन शाखाले चार वटा अस्पताल सञ्चालन गर्दै आएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु