भरतपुरको ५५ प्रतिशत माटो उपचार बिना कृषि गर्न नमिल्ने अवस्थामा

चितवन – भरतपुर महानगरपालिकाको ५५ प्रतिशत माटो उपचार बिना कृषि गर्न नमिल्ने अवस्थामा पुगेको छ ।
माटोमा तीव्र रुपमा रासायनिक मल र बिषादीको प्रयोग बढ्दा महानगरपालिका क्षेत्रमा ५५ प्रतिशत माटोमा अम्लियपनाको समस्या रहेको देखिएको हो । माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडाले महानगरसँग समन्वय गरेर सञ्चालन गरेको तीन दिने माटो परीक्षण शिविरको नतिजाले यस्तो देखाएको हो ।
महानगरका विभिन्न वडाबाट संकलित २४१ वटा नमुना परीक्षण गर्दा ५५ प्रतिशत माटोमा अम्लियपन देखिएको प्रयोगशाला हेटौंडाका प्रमुख डा. जनार्दन खड्काले जानकारी दिए । माटोमा प्राङ्गारिक पदार्थको मात्रा जम्मा ४० प्रतिशत रहेकोले सहि उपचार बिना उत्पादन लिन नसकिने डा. खड्काको भनाई छ ।
मुख्य समस्याको रुपमा रहेको अम्लियपन हटाउन कृषि चुनको प्रयोग गर्नु पर्ने र त्यसपछि प्राङ्गारिक मलको प्रयोग गरेर खेती गर्नु पर्ने खड्काको सुझाव छ । कम्पोष्ट मल, प्राङ्गारिक मल या घरको गोठेमलको प्रयोग बिना माटोको उपचार सम्भव नहुने उनले बताए । माटोको सुधार गर्न प्रागारिक र कम्पोष्टमलको प्रयोगमा किसानलाई अग्रसर बनाउन महानगर कृषि शाखालाई सुझाव दिएको खड्काले बताए ।
माटोमा अम्लीयपन बढ्नुको प्रमुख कारण अत्य्याधिक मात्रामा प्रयोग गरिने रासायनिक पदार्थ भएको महानगरका कृषि तथा पशुपन्छि प्रर्वधन शाखाका प्रमुख तेजेन्द्र पौडेलले बताए । किसानहरूले परीक्षण नै नगरी रासायनिक मलको प्रयोग गर्दा माटो बिग्रदै गएको बताउँदै उनले सबै किसानलाई माटो परीक्षण गरी प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गरे ।
माटोमा अम्लियपन बढे उत्पादन स्वतः घट्ने माटो विज्ञको भनाइ छ । अम्लीयपनको मात्र यसरी नै बढे अन्न तरकारी, फलफूललगायत बाली उत्पादन केही वर्षमा नै शून्यमा झर्ने सम्भावना रहन्छ । जमिन ५.५ देखि ६.५ पीएचसम्म हुँदा धान खेती गर्न सकिन्छ । तर, ५.५ देखि तल गएपछि क्रमशः उत्पादन घट्दै जान्छ र माटोलाई उपचार गर्नु पर्ने हुन्छ ।
परिक्षण पश्चात सिफारिस गरिएका मात्रामा कृषि चुन माटोमा प्रयोग गर्नु पर्ने विज्ञहरु बताउँछन् ।कृषि चुन बाली उत्पादन गरेर खाली भएको जमिनमा प्रयोग गरेर त्यसलाई जोतेर पानी लगाउनु पर्ने कृषि शाखा प्रमुख तेजेन्द्र पौडेल बताउँछन् ।
चुन छरेर जोतेपछि पानी लगाउँन सकियो भने १५ दिनमा जमिन खेती गर्न तयार हुने उनले बताए ।कृषि चुना छर्ना साथ खेति गरेमा बालि नउम्रने, बालि उम्रेको भए डढ्ने समस्या रहने बताईन्छ् । सिचाई नहुने जमिनमा भने कृषि चुन छरेपछि जमिन जोतर १ महिनासम्म खेती गर्न नहुने कृषि विज्ञ डा. खड्काले बताए । बिरुवाले ६५ प्रतिशत बढी आवश्यक पदार्थ माटोबाट र अन्य हावाबाट लिने गर्छ । त्यसैले माटो सुधारका लागीनै बिशेष ध्यान दिनु आवश्यक रहेको डा. खड्काले बताए ।
कार्यक्रममा बागमती प्रदेश कृषि तथा पशुपन्छि बिकास राज्यमन्त्री ईन्द्र माया गुरुङले अब रासायनिक मल बिउको प्रयोग घटाएर अर्गानिक उत्पादनमा जोड गर्नु पर्ने बताईन् । माटो सुधारका लागी पशु पन्छिको मलको प्रयोगलाई बढाउन उनले आग्रह गरिन् । माटोको उर्भरा शंक्ति बढाउने तर्फ ध्यान पुर्याउन उनको आग्रह छ ।
महानगर प्रमुख रेनु दाहालले महानगरमा अब अर्गानिक उत्पादन र उपभोगमा जोड दिएकाले सबै किसानलाई माटो सुधार गरी अर्गानिक खाद्ययबस्तु उत्पादन र उपभोग गर्न आग्रह गरिन । अर्गानिक उत्पादनका लागी महानगरले आवश्यक सहयोग र समन्वय गर्ने र बल बिउ कृषि चुनामा किसानलाई सहयोगका लागी कृषि शाखाले आवश्यक प्रवन्ध गर्ने उनको भनाई छ ।
सो अवसरमा भरतपुर माहानगर उपप्रमुख पार्वति शाह ठकुरीले अब अर्गानिक उत्पादन गर्न जोड दिईन् । कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुबेदीले बिषादी युक्त उत्पादनले क्यान्सर रोग बढाएकाले त्यसबाट बच्न बेलैमा ध्यान दिनु पर्नेमा जोड दिए ।
तपाइँको प्रतिक्रिया