अस्वस्थ खानपानले बढ्दै हृदयाघात

काठमाडौं – मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् । दश वर्षको तथ्याङ्क हेर्ने हो भने हृदयाघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ ।
निष्क्रिय जीवनशैली, चिन्ता, युवावस्थामा नै चुरोट, सुर्ती तथा खैनी सेवन र चिल्लो– बोसो खानाले हृदयघातका बिरामी बढिरहेको सहिद गङ्गालाल हृदय राष्ट्रिय केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीले बताए । घरभन्दा बाहिरको अस्वस्थ खानपान गर्नाले पनि हृदयघातका बिरामी बढिरहेको चिकित्सकले बताएका छन् । केन्द्रमा सन् २०१२ मा ४९५ जनामा हृदयाघात भएकामा ६ वर्षपछि २०१८ मा तीन गुणा बढेर एक हजार ४६० जना पीडित भएका थिए । उनका अनुसार २०२० मा एक हजार ६९८ र सन् २०२१ मा दुई हजार २७३ जना सो रोगका कारण अस्पतालमा भर्ना भएका छन् ।
डा.अधिकारीले २०२१ मा अस्पताल भर्ना भएका बिरामीमध्ये प्रायः हृदयाघात भएका हुन् । हृदयघातका बिरामी बढे पनि सन् २०२० मा कोरोना भाइरसका कारणले अस्पतालमा मुटु रोगका कम बिरामी आएका थिए । ‘विगत १० वर्षको तथ्याङ्क हेर्ने हो भने मुटु रोगका बिरामीमध्ये ५० प्रतिशत त हृदयाघात भएका बिरामी मात्र नै छन्’, उनले भने, ‘नेपालमा हृदयघातका विरामी दिनप्रतिदिन बढिरहेको गङ्गालालमा आएका बिरामीबाट नै थाहा हुन्छ ।’
उनका अनुसार अस्पतालमा दैनिक चार जना हृदयाघात आउने गरेका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान् कोइराला पनि अस्वस्थ खानपान, तनाव, बाहिरी प्रदूषण र वंशाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द भएर हृदयाघात हुने गरेको बताउँछन् । ‘धूमपान, मधुमेह र उच्च रक्तचाप भएका मानिसको मुटुको नली र अन्य नली बाक्लो हुँदै हृदयाघातले आक्रमण गर्छ । यस्तै कोलेस्टेरोल (मुटुमा हुने बोसो), शारीरिक अभ्यासको कमी पेट बढ्ने, पसिना ननिकाल्ने, तनाव, बाहिरी प्रदूषण र वंशानुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द हुने गर्छ’, उनले भने, ‘स्वस्थ्य जीवनशैली अपनाउने, खाना धेरै नखाने, स्वच्छ खाने, शारीरिक अभ्यास गर्ने, चुरोट नखाने, नियमित व्यायाम गर्न सके हृदयघातबाट बच्न सकिन्छ ।’उनका अनुसार मुटु जन्मजात बिग्रेर आउने, बिग्रेर आउनेबाट बचेको, घाँटीको दुख्ने रोगबाट शुरु भई पछि मुटुको भल्भ बिग्रने रोग (बाथज्वरजन्य रोग) जस्ता कारणले मुटुका बिरामी हुने गरेका छन् ।रासस
तपाइँको प्रतिक्रिया