कोरोनाबाट सार्वजनिक तथ्यांक भन्दा तीन गुणा बढीको मृत्यु भएको खुलासा

काठमाडौं – अनुसन्धानकर्मीहरुले कोरोनाबाट मृत्यु भएका आधिकारिक तथ्यांक भन्दा तीनगुणाबढी मृत्यु भएको बताएका छन् । हालसम्म आधिकारिकरुपमा कोरोनाबाट ५९ लाखको मृत्यु भएको छ ।
तर अमेरिकाको वासिङ्टन युनिभर्सिटीमा कोभिडको अधिक मृत्यु दरको बारेमा १९१ मुलुक र क्षेत्रको बारेमा अध्ययन गर्दा तथ्यांक भन्दा तीन गुणा बढीको मृत्यु भएको पाइएको हो । अर्थात कोरोनाबाट १८ मिलियन अर्थात १ करोड ८० लाख मानिसको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको दिनको २ वर्षपछि उनीहरुको रिपोर्ट सार्वजनिक भएको हो । यसलाई अनुसन्धानकर्ताले विश्वव्यापी मृत्यु तथ्यांक भनेका छन् ।
केही मृत्युहरु भाइरसका कारण र अन्य संक्रमणसँग पनि सम्बन्धित भएको बताइएको छ । कोभिडले अन्य पहिले नै भएका चिकित्सकीय अवस्थाहरु जस्तै मुटु वा फोक्सोका रोगहरु भएकालाई च्याप्न सक्ने देखिन्छ ।
पछिल्लो मापनलाई अधिक मृत्युको नामकरण गरिएको छ । महामारीले असर गर्न थालेपछि पछिल्ला वर्षहरूको अपेक्षित तुलनामा कति मानिसको मृत्यु भएको छ भन्ने पनि अध्ययनमा बताइएको छ ।
यसको गणनाका लागि अनुुसन्धानकर्मीहरुले विभिन्न सरकारी वेब साइटहरुबाट खोजी गरेर तथ्यांक संकलन गरेका थिए । अधिक मृत्युदर अनुमानित देश र क्षेत्रका आधारमा नाटकीय रुपमा फरक देखिएको छ । तर अनुसन्धानमा गणना गरिएका विश्वव्यापी मृत्युदर १ लाखमा १२० भएको रहेको छ ।
२०२० को सुरु र २०२१ को अन्त्य बीचको दुुई वर्षको अवधिमा कोभिडका कारण १ करोड ८२ लाख मानिसको मृत्यु भएको अध्ययनमा भनिएको छ । एजेन्सी
तपाइँको प्रतिक्रिया