‘अर्थोपेडिकका बिरामिलाई पनि सहुलियतको व्यवस्था गर्नुपर्छ’–डा.सुरेश पाण्डे

चितवन– नेपाल अर्थोपेडिक एशोसिएशन चितवनका अध्यक्ष डा सुरेश पाण्डेले सरकारले हाड जोर्नीका बिरामिलाई सहुलियत दिनुपर्ने बताएका छन् ।
चितवनमा आजदेखि सुरु भएको देशभरका अर्थोपेडिक सर्जनहरुको छाता सङ्गठन नेपाल अर्थोपेडिक एशोसिएशनको २७औँ वार्षिक सम्मेलनमा उनले बोल्दै हाड जोर्नी शरिरको अभिन्न अंग रहेको भन्दै यसको उपचार गर्न नसक्ने बिरामीहरुका लागि सहुलियत तथा राहतको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
उनले विगत केही वर्षदेखि चितवनका अस्पतालमा असुविधाका कारण मेजर अर्थोपेडिक सम्बधिका बिरामीलाई बाहिर रेफर गर्नुपर्ने बाध्यता शत प्रतिशत कम भएको बताए । उनी भन्छन्, ‘चितवनमा कुनैपनि प्राविधिक विशेषज्ञता कम अथवा उपकरण अभावकै कारण कुनै पनि अर्थोपेडिक सम्बन्धि रोग लागेका ट्रमा वा नन ट्रमा होस् कुनै पनि बिरामीलाई रेफर गर्नु परेको छैन्।’ उनले सरकारले अर्थोपेडिक विधामा सरकारले चासो कम दिएको बताएका छन् ।
सम्मेलनमा ९० अर्थोपेडिक सर्जन सहभागी छन् भने पाँच सय हाराहारी स्वदेश र विदेशका विज्ञहरुले जुममार्फत् कार्यक्रममा सहभागी भएका हुने छन् । एशोसिएशनका केन्द्रीय अध्यक्ष डा रवीन्द्रलाल प्रधान, पूर्व अध्यक्ष डा दीपक महरा, केन्द्रीय महासचिव डा विनोद शेरचन, साइन्टिफिक कमिटीका संयोजक डा शैलज रञ्जीतकार, आयोजक समितिका सदस्य सचिव डा प्रमोद लामिछाने लगायतले बोलेका थिए ।
सदस्य सचिव डा लामिछानेले कार्यक्रमले अर्थोपेडिक विधामा प्रदान गरिने सेवाकोस्तर देशभरका सम्पूर्ण अस्पतालमार्फत वृद्धि गर्न बौद्धिक सहयोग पुग्ने अपेक्षा गरिएको बताए । अनुसन्धानबाट पत्ता लागेका निष्कर्ष र सोधपत्रको प्रस्तुतिकरण र छलफलले चिकित्सकलाई आउँदा दिनमा काम गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
तपाइँको प्रतिक्रिया