सङ्घ, प्रदेश र स्थानीय तहमा ४९ हजार निजामती कर्मचारीको दरबन्दी रिक्त
काठमाडौं – सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका गरी अहिले ४९ हजार कर्मचारीको दरबन्दी रिक्त छ । विभिन्न पदमा गरी कुल एक लाख ३६ हजार निजामती कर्मचारीको दरबन्दी रहेकोमा अहिले ८७ हजार कर्मचारीको मात्र दरबन्दी पूरा भएको र बाँकी ४९ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ ।
ठूलो सङ्ख्यामा कर्मचारीको दरबन्दी रिक्त हुँदा विकास निर्माण र सेवा प्रवाहको काममा प्रत्यक्ष असर परेको छ । रिक्त दरबन्दीमध्ये अधिकांश प्राविधिक छन् । शिक्षा, स्वास्थ्य, इन्जिनियरिङ, कृषिलगायतका प्राविधिक र केही प्रशासनिक सेवाका कर्मचारीको दरबन्दी रिक्त रहेको किताबखानाले जनाएको छ । कोरोनाले गर्दा लोकसेवा आयोगको नियमित परीक्षा विभिन्न समयमा रोकिँदै गएको, कर्मचारीको सेवा अवकाश हुने सङ्ख्या बढ्दै गएको र सोही सङ्ख्यामा लोकसेवाबाट कर्मचारी पूर्ति गर्न नसकिएकाले ठूलो सङ्ख्यामा कर्मचारीको दरबन्दी रिक्त रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
तपाइँको प्रतिक्रिया