इमर्जिङ नेपालको आईपीओ भोलि बाँडफाँड हुने
काठमाडौं – इमर्जिङ नेपाल लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) फागुन ४ गते बुधबार बाँडफाँड हुने भएको छ ।
माघ २६ गते देखि फागुन १ गते आइतबारसम्म सर्वसाधारणहरुका लागि निष्कासन तथा बिक्री खुला भएको आईपीओको बुधबार दिउँसो ३ः३० बजेदेखि कार्निभल रेष्ट्रो, अनामनगर, काठमाडौंमा बाँडफाँड हुनेछ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ भाग्यमानी ५१ हजार ६६२ जनाले १० कित्ता तथा ८ जनाले ११ कित्ता गोलाप्रथाबाट पाउनेछन् ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २४ लाख बढीले २ करोड ७८ लाख कित्ता माग गरेका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ५३.८७ गुणा धेरै हो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाबाट वितरण हुनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजी २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र सर्वसाधारणमा निष्काशन गरिएको ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सेयर खरीदका लागि आह्वान गरिएको थियो ।
इमर्जिङ नेपालको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ दिएको छ । यसले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने संकेत गर्दछ ।
कम्पनीमा संस्थापकमध्ये सबैभन्दा धेरै चन्द्र प्रसाद ढकालले ७ लाख ५० हजार ६० कित्ता सेयरमा लगानी गरेका छन् । यस्तै, शुभाष चन्द्र संघाईले ६ लाख २५ हजार कित्ता र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ६ लाख २२ हजार कित्ता सेयर स्वामित्व छ ।
यस्तै कम्पनीमा बैंकर, उद्योगपति, सरकारी सेवामा कार्य गरेका पूर्व कर्मचारी लगायत विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाहरुको समेत लगानी रहेको छ ।
तपाइँको प्रतिक्रिया