चितवनमा चार दिने फुटबल प्रशिक्षक प्रशिक्षण सुरु
चितवन – चितवन जिल्ला फुटबल संघको आयोजनामा चार दिने फुटबल प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । आज (मंगलबार) बाट सुरु भएको तालिमको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले गरे ।
कार्यक्रम उद्घाटन गर्दै एन्फा अध्यक्ष शेर्पाले फुटबललाई वैज्ञानिक ढंगले सञ्चालनका लागि शिक्षा निकै महत्त्वपूर्ण हुने बताए । फुटबलको शिक्षा हासिल गरे मात्रै कुशल प्रशिक्षक बन्न र कुशल खेलाडी उत्पादन गर्न सकिने उनको भनाई थियो ।
उनले ‘डी’ लाइसेन्स प्राप्त उत्कृष्ट प्रशिक्षकलाई ‘सी’ को, ‘सी’ लाई ‘बी’ को र ‘बी’ लाई ‘ए’ को प्रशिक्षण दिईने उनले बताए । शेर्पाले धेरै भन्दा धेरै फुटबल प्रशिक्षक उत्पादनमा एन्फाले जोड दिएको बताए ।
अहिले नेपालमा ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षकहरुको अभाव रहेको उनले बताए । यसैले एन्फाले प्रशिक्षक उत्पादनमा पनि जोड दिईरहेको उनको भनाइ थियो । यस्तै अहिलेको प्रशिक्षणबाट ‘डी’ लाइसेन्स प्राप्त गर्ने प्रशिक्षकहरुलाई प्रशिक्षणको अवसर प्रदान गर्नका लागि स्थानीय तहसँग समन्वय गरिने समेत बताए ।
भरतपुर महानगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्लेले सिकाईले नै खेलाडी उत्पादन हुने भएकोले यस्ता प्रशिक्षण कार्यक्रम महत्त्वपूर्ण हुने बताए । कस्तो खेलाडी उत्पादन गर्ने भन्ने बिषय प्रशिक्षकको हातमा हुने उनको भनाइ थियो । अहिले चितवनमा एन्फाको सक्रियताले फुटबलले बिकासको गति लिईरहेको समेत उनले बताए । जिल्ला खेलकुद बिकास समिति चितवनका सचिव रामजि ढकालले अब चितवनको फुटबलले नयाँ उचाई लिने विश्वास व्यक्त गरे ।
कोरोनाका कारण तालिम समयमा नै आयोजना गर्न नसकिएको चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले जानकारी दिए । फुटबलमा लगाव राख्नेहरुको होस्टेमा हैसे गर्ने काम संघले गरिरहेको उनको भनाइ थियो । प्रशिक्षण फुटबलको मुख्य पाटो भए भन्दै उनले तालिममा सिकेका बिषय व्यवहारमा उतारेर राम्रा खेलाडी उत्पादनमा जोड दिन आग्रह गरे ।
चार दिनसम्म चल्ने तालिममा सातै पालिकाका ३० प्रशिक्षार्थीहरु सहभागि रहेको चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए । उनीहरुलाई अखिल नेपाल फुटबल संघका हेड अफ कोच एजुकेसन सन्जित सिंह र हेड अफ युथ डेभलप्मेन्ट नविन महर्जनले प्रशिक्षण दिनेछन् ।
तालिम अवधिभर ‘बी’ लाइसेन्स प्राप्त तथा जिल्ला फुटबल संघका प्रशिक्षक सुमन श्रेष्ठ र पूर्व राष्ट्रिय खेलाडी तथा एएफसी लेभल वान गोलकिपर प्रशिक्षक छन्नुराम चौधरी सहजकर्ता रुपमा रहनेछन् ।
तपाइँको प्रतिक्रिया