चितवनमा ७० हजार भेडाबाख्रालाई पिपिआरविरुद्धको खोप
चितवन – चितवनमा ७० हजार भेडाबाख्रालाई पिपिआर विरुद्धको निशुल्क खोप लगाईएको छ । माघ २५ गतेबाट फागुन २ गतेसम्म ७० हजार भेडाबाख्रालाई खोप लगाईएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका निमित्त प्रमुख डा. प्रभात न्यौपानेले जानकारी दिए ।
खोप लगाईएको ७० हजार मध्ये ३०-४० वटा मात्रै भेडा हुन् । अरु सबै खोप बाख्रालाई लगाईएको न्यौपानेले बताए । २ गतेसम्म मात्रै चल्ने भनिएको खोप अभियानलाई अहिले पनि निरन्तरता दिईएको उनले बताए ।
लक्षित संख्यामा खोप नलगाएसम्म अभियान सञ्चालन हुने उनले बताए । चितवनमा एक लाख २५ हजार भेडाबाख्रालाई खोप लगाईने लक्ष्य रहेको छ । यसका लागि एक लाख २५ हजार डोज खोप प्राप्त भएको उनले बताए । ‘२ गते हिजोसम्म भने मात्रै खोप लगाउने भनिए पनि हामीले यो अभियानलाई अहिले पनि निरन्तरता दिएका छौं, उनले भने, ‘एक लाख २५ हजारलाई लगाउने हाम्रो लक्ष्य हो । लक्ष्य पुरा नभएसम्म अभियान चल्छ ।’
आवश्यक परे माग अनुसार थप खोप मगाइने समेत उनले बताए । खोप अभियानका लागि सातै स्थानीय तहमा ४० हजार खोपकेन्द्र स्थापना गरिएको छ । यस्तै सातै पालिकामा ३८ जना भ्याक्सिनेटर समेत नियुक्त गरिएको छ । खोप लगाएपछि तीन वर्षसम्म पिपिआर रोग लाग्दैन ।
तपाइँको प्रतिक्रिया