आज बाल्यकाल क्यान्सरविरुद्धको दिवस : नेपालमा बाल क्यान्सर रोगी बढ्दै
काठमाण्डाै – आज बाल्यकाल क्यान्सरविरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १५ मा अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्ध दिवस मनाउने गरिन्छ ।बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो ।
अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसको यसवर्षको नारा ‘जीवन रक्षा : तपाईँको हातमा’ रहेको छ । हरेक वर्ष विश्वभर झण्डै दुई लाख आठ हजार जना १९ वर्षमुनिका जनसङ्ख्यामा क्यान्सर हुने गरेकाे तथ्याङ्क छ ।
नेपालमा बर्सेनि क्यान्सरका १५ सयभन्दा धेरै बालबालिका थपिने गरेका छन् । तर एक तिहाइ बाल क्यान्सर रोगी मात्रै उपचारको पहुँचमा पुग्ने गरेको पाइएको छ । समयमै पत्ता लगाएर उपचार गरे बालबालिकामा हुने क्यान्सर ९० प्रतिशतभन्दा बढी निको हुने कान्ति बाल अस्पतालले जनाएको छ ।
कान्ति बाल अस्पतालका निर्देशक डा. अजित रायमाझीका अनुसार बालबालिकामा देखिने विभिन्न प्रकारका क्यान्सरमध्ये रक्त क्यान्सर बढी देखिने गर्छ । रगतको कमी भइ छाला सेतो हुने, तौल असामान्य रुपमा घट्ने, खोकी निको नहुने, शरीर सुन्निने लगायतका लक्षण देखिन्छन् ।बालक्यान्सरको उपचार सम्बन्धी सबैजसो सेवा निःशुल्क रहेको तर उपचारमा पहुँचको कमी मुख्य समस्या रहेको डाक्टरको भनाइ छ ।रासस
तपाइँको प्रतिक्रिया